arrow

रामपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा, जिल्लाका आठ पालिका सूचीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
rampur-palpa.jpg

रामपुर (पाल्पा)। पाल्पाको रामपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। नगरपालिकाभित्रका सबै बालबालिकाले पूर्ण खोप लगाएको यकिन भएपछि यो घोषणा गरिएको हो। यससँगै पाल्पा जिल्लाका आठवटा स्थानीय तह पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा भएका छन्।

जिल्ला खोप समन्वय समिति पाल्पाले रामपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेको छ। समितिका संयोजक टङ्कनाथ खनाल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोख्रेलले रामपुर नगरप्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित र स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई प्रमाणपत्र प्रदान गर्दै नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन्।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोख्रेलका अनुसार यस वर्ष रामपुर नगरपालिकासहित आठवटा पालिका पूर्ण खोप सुनिश्चित भएका छन् र जेठ ६ गतेभित्र बाँकी दुई पालिकालाई पनि घोषणा गरिने तयारी छ।

जिल्लामा चालु आर्थिक वर्षभित्र कुनै पनि महिला घरमा प्रसूति नभएको तथ्याङ्क प्रस्तुत गर्दै पोख्रेलले जिल्लालाई पहिलो संस्थागत सुत्केरीयुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए। संघीयता कार्यान्वयन भएपछि २०७९ सालदेखि पाल्पा लगातार तेस्रो वर्षसम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुन सफल भएको उनको भनाइ छ।

रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका पाँच सय ५७ र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार नौ सय ७३ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेको तथ्याङ्क प्रस्तुत गरे।

कार्यक्रममा नगरभित्रका दशवटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो भने वडा नम्बर १ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ। पाल्पा जिल्लालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ