गुजरातको जितसँगै बेंगलुरु र पञ्जाब प्लेअफमा प्रवेश, लखनउको लागि आज निर्णायक, यस्तो छ समीकरण
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
709
Shares
काठमाडौं । आईपीएल १८ को लिग चरणका ६० खेल सम्पन्न भइसकेका छन् र अब बाँकी १० खेलले प्रतियोगिताको प्लेअफ समीकरणलाई अन्तिम रूप दिनेछन्।
आइतबार भएका दुई रोमाञ्चक खेलमा पञ्जाब किंग्स र गुजरात टाइटन्सले आ-आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरेपछि यी दुई टोलीसँगै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।
आइतबार जयपुरमा भएको खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई २१९ रनको लक्ष्य दिएको थियो, जसको जवाफमा राजस्थानले २०९ रन मात्र बनाउन सक्यो। अर्को खेल दिल्लीमा भएको थियो, जहाँ दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई १९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर गुजरातले उत्कृष्ट प्रदर्शन गर्दै कुनै विकेट नगुमाई १९ ओभरमै लक्ष्य पुरा गर्यो।
दिल्ली क्यापिटल्सले १२ खेलमा पाँचौं हार बेहोरेको छ र १३ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ। प्लेअफमा पुग्नका लागि दिल्लीले अब मुम्बई इन्डियन्स र पञ्जाब किंग्सविरुद्धका बाँकी दुवै खेल जित्नैपर्ने चुनौती छ।
पञ्जाब किंग्सले १२ खेलमा आठौं जित हासिल गर्दै १७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार रातिको नतिजाले पञ्जाबलाई प्लेअफमा स्थान पक्का गरेको छ। अब टोलीले मुम्बई र दिल्लीविरुद्धका अन्तिम दुई खेल जितेर शीर्ष दुईमा पनि आफ्नो स्थान सुरक्षित गर्न सक्ने सम्भावना छ।
गुजरात टाइटन्सले १२ खेलमा नवौं जित दर्ता गर्दै १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ र प्लेअफमा आफ्नो स्थान सुनिश्चित गरेको छ। गुजरातको यो जितले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पनि शीर्ष चारमा प्रवेश गर्न मद्दत पुगेको छ। गुजरातले अब बाँकी दुई खेल जितेर तालिकाको शीर्ष दुईमा आफ्नो पकड बलियो बनाउन प्रयास गर्नेछ।
राजस्थान रोयल्स भने प्लेअफको दौडबाट बाहिरिएको छ। १३ खेलमा १०औं हार बेहोरेपछि टोली ६ अङ्कसहित तालिकाको नवौं स्थानमा यथावत छ। उसको लिग चरणको अन्तिम खेल १०औं स्थानमा रहेको चेन्नई सुपर किंग्ससँग हुनेछ। यो खेल जित्ने टोलीले नवौं स्थानमा आफ्नो आईपीएल सिजनको अन्त्य गर्नेछ।
आज आईपीएलमा लखनउ सुपर जायन्ट्स (एलएसजी) ले सनराइजर्स हैदराबादसँग दिल्लीमा प्रतिस्पर्धा गर्नेछ। लखनउले ११ खेलमा ५ जित र ६ हारसहित १० अङ्क जोडेको छ र तालिकाको सातौं स्थानमा छ। प्लेअफमा पुग्नका लागि लखनउलाई आजको खेल जित्नैपर्ने हुन्छ र त्यसपछि बाँकी दुवै खेल पनि ठूलो अन्तरले जित्नुपर्नेछ। साथै, टोलीले मुम्बई र पञ्जाबको हारको लागि पनि प्रार्थना गर्नुपर्नेछ।
सनराइजर्स हैदराबाद पनि प्लेअफको दौडबाट बाहिर भइसकेको छ। टोलीले ११ खेलमा ३ जित र १ बेनतिजा खेलसहित ७ अङ्क मात्र जोडेको छ। आजको खेल जितेर हैदराबादलाई खासै फाइदा नभए पनि टोलीले लखनउको प्लेअफ यात्रामा भने बाधा पुर्याउन सक्छ। हैदराबादको अर्को खेल आरसीबीसँग छ, जसले आरसीबीको प्लेअफ समीकरणलाई पनि असर गर्न सक्छ।
आइतबार गुजरातका साई सुदर्शनले शानदार शतक र शुभमन गिलले अर्धशतक बनाए। यस प्रदर्शनसँगै सुदर्शन सर्वाधिक रन बनाउने खेलाडीको सूची (ओरेन्ज क्याप) को शीर्ष स्थानमा उक्लिएका छन्। गिल उनीपछि दोस्रो स्थानमा छन् भने राजस्थानका यशस्वी जायसवाल ५२३ रन बनाएर तेस्रो स्थानमा छन्।
बलिङतर्फ, गुजरातकै प्रसिद्ध कृष्णाले आइतबार १ विकेट लिएसँगै प्रतियोगितामा २१ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी (पर्पल क्याप) को शीर्ष स्थानमा छन्। उनको पछि चेन्नई सुपर किंग्सका नूर अहमदले २० विकेट र रोयल च्यालेन्जर्स बेंगलुरुका जोश हेजलवुडले १८ विकेट लिएका छन् ।