arrow

दुई वर्षअघि भासिएको बिरिङ खोलाको पुल अझै बनेन, जोखिम मोलेर सवारी आवागमन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
biring-bridge.jpg

झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म निर्माण हुन सकेको छैन। विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने यो महत्वपूर्ण पुल जोखिम मोलेरै भए पनि साना सवारी साधनहरूले प्रयोग गरिरहेका छन्।

स्थानीय बासिन्दा मेघराज रम्तेलले भासिएको पुलको तत्काल मर्मत सम्भार गर्न सरकारले कुनै चासो नदेखाएको गुनासो गरे। उनले भने, “पहिलो वर्ष बजेट थिएन होला भनेर मन बुझायौं, तर दोस्रो वर्ष पनि नबन्दा चिन्ता लागेको छ।”

हिउँदमा केही सहज भए पनि बर्खायाममा यो पुल पूर्ण रूपमा बन्द हुने गरेको छ। पुलको छत भासिएर खोलामा पुगेकाले स्थानीयवासीले अब सो स्थानमा नयाँ पक्की पुल निर्माण गर्नुपर्ने माग गरेका छन्। बर्खाको समयमा बाढी पुलमाथिबाटै बग्ने गरेको छ।

अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईंका अनुसार नगरपालिकाले पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्न संघीय सरकारसँग अनुरोध गरेको छ। उनले भने, “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले यस विषयमा चासो देखाउनुभएको छ। उहाँहरूले पुलको अवस्था निरीक्षण पनि गर्नुभएको छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा राखेका छौं।”

नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पर्याप्त बजेट नभएको जानकारी दिँदै सेढाईंले संघीय सरकारको निर्णय पर्खनुको विकल्प नभएको बताए। पुल भासिएर काम नलाग्ने अवस्थामा पुगिसकेकाले मर्मत सम्भारले मात्र नहुने उनको भनाइ छ।

विसं २०६५ सालमा भारत सरकारको दुई करोड रुपैयाँ सहयोगमा निर्माण भएको यो पुल बनेपछि यस सडकमा लामो दूरीका यातायातका साधनसमेत सञ्चालनमा आएका थिए।

सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपिन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल निर्माणको योजना नपरेको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ