arrow

दशरथचन्द नगरपालिकाका पाँच विद्यालयमा आयुर्वेद शिक्षा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
aayurvedic_(2).jpg

बैतडी। दशरथचन्द नगरपालिकाले आफ्नो क्षेत्रभित्रका पाँच माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको पठनपाठन शुरु गरेको छ। नगरपालिकाले मणिलेक माध्यमिक विद्यालय गुरुखोला, निङ्गलाशैनी माध्यमिक विद्यालय देहीमाण्डौँ, वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेक, कुलौन माध्यमिक विद्यालय खतेडी र केदार नागार्जुन माध्यमिक विद्यालय बग्लेखानमा आयुर्वेद शिक्षा थालेको हो।

नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख नरेन्द्र कलौनीका अनुसार यो वर्ष पाँच विद्यालय छनोट गरी विद्यार्थीहरूलाई आयुर्वेदको महत्वबारे जानकारी दिइँदैछ। उनले कार्यक्रम सञ्चालन भएका विद्यालयका विद्यार्थीलाई जडीबुटी र त्यसको प्रयोगबारे जानकारी गराइने र स्थानीयस्तरमा पाइने जडीबुटी संरक्षणबारे पनि बालबालिकालाई प्रशिक्षण दिइने बताए।

यसअघि यी पाँचवटै विद्यालयका आयुर्वेद तथा योग शिक्षकलाई तालिम दिइएको थियो। उनीहरूले विद्यालयमा आयुर्वेद र योगका नियमित कक्षा सञ्चालन गरिरहेका छन्। विद्यालयमा आयुर्वेद तथा योग शिक्षा अन्तर्गत बालबालिकालाई विभिन्न योगासनबारे जानकारी गराइन्छ। यसले स्वस्थ जीवनशैली अपनाउन सहज हुने अपेक्षा गरिएको छ।

आयुर्वेद औषधालय मुस्याचौरका प्रमुख राजेन्द्रकान्त दयालले योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने भएकाले विद्यार्थीलाई आयुर्वेद कार्यक्रममार्फत जानकारी दिइएको बताए। उनले योग शिक्षाको महत्वबारे विद्यार्थीलाई जानकारी गराइएको र अन्य विद्यालयमा पनि यो शिक्षा विस्तार गर्न सके योगबारे प्रचारप्रसार हुने बताए।

दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले आयुर्वेदिक औषधि, योग र यसले जीवनमा पार्ने सकारात्मक प्रभावबारे ज्ञान दिन विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ