शान्ति र्याली र सत्संग समारोहसहित मानव धर्मले मनायो बुद्ध जयन्ती
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
839
Shares
काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रम आयोजना गरी २५६९ औँ बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ। समितिले बृहत् शान्ति र्याली, सत्संग समारोह, भगवान् बुद्धको जीवनीमा आधारित नाटक तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै बुद्ध जयन्ती मनाएको हो।
सत्संग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले प्रत्येक व्यक्तिले शान्तिमय जीवन जिउनुपर्ने र अरूलाई पनि शान्तिपूर्ण जीवनयापनका लागि वातावरण सिर्जना गर्नुपर्ने बताइन्। घरमा एकजना सदस्यको मन अशान्त हुँदा सम्पूर्ण परिवारमा त्यसको नकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै उनले घरलाई मन्दिर जस्तो पवित्र बनाउन सबै सदस्यको महत्वपूर्ण भूमिका रहने स्पष्ट पारिन्। यसका लागि मन र दिमाग दुवै एकाग्र भई कार्य गर्नुपर्ने उनको तर्क थियो।
शुद्धोधनले बाण हानेर घाइते बनाएको हाँसलाई राजकुमार सिद्धार्थले उद्धार गरेको प्रसंग उल्लेख गर्दै महात्मा चमेली वाईजीले सबै मानिसमा भगवान् बुद्धको जस्तो करुणा, दया र सम्मानको भावना हुनुपर्ने र यसबाट मात्र विश्वमा भाइचाराको विकास हुने विश्वास व्यक्त गरिन्।
मानिस स्वयं शक्ति र शान्तिको खानी भए पनि बाहिरी आँखाले त्यसलाई पहिचान गर्न नसकिने बताउँदै उनले आफ्नो अन्तरनिहित शक्तिलाई चिन्नका लागि आँखा बन्द गरी आफैंभित्र फर्किन सबैलाई आग्रह गरिन्।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले 'नजिकको तीर्थ हेला' भनेझैँ नेपालीहरूले भगवान् बुद्धको महत्वलाई बेवास्ता गरेको बताए। विश्वका मानिसहरूले बुद्धले दिएको ज्ञानको खोजी गरिरहेको अवस्थामा नेपालीहरू अन्यत्र लाग्नु दुःखद् भएको उनको भनाइ थियो। शक्ति प्रदर्शनले कहिल्यै शान्ति स्थापना गर्न नसक्ने उल्लेख गर्दै उनले हालै भारत र पाकिस्तानबीचको द्वन्द्वले नेपालमा पनि असुरक्षाको वातावरण सिर्जना गरेको तर युद्ध रोकिएपछि शान्तिको श्वास फेर्न पाएको बताए।
नेपाल मानव धर्म सेवा समितिकै वरिष्ठ महात्मा लता वाईजीले संसारमा जन्म लिएका सबैको मृत्यु निश्चित भएकाले मानिसलाई जीवित राख्ने तत्वलाई बुझ्नुपर्नेमा जोड दिइन्। अहिले देशमा अशान्ति र अस्थिरता व्याप्त रहेको उल्लेख गर्दै उनले सबै मिलेर देशमा शान्ति ल्याउनुपर्ने र यसका लागि अध्यात्म नै एक मात्र माध्यम भएको स्पष्ट पारिन्। समय-समयमा यस धर्तीमा आएका महान् पुरुषहरूले शान्तिको सन्देश दिएको र वर्तमान कलियुगमा पनि शान्तिको सन्देश दिन एक महापुरुषको जन्म भइसकेकोले उनलाई पहिचान गर्न र खोज्न उनले सबैलाई आह्वान गरिन्।