देशमा पश्चिमी-स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव, यस्तो रहनेछ आजको मौसम
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
614
Shares
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।
आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा अन्य पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।