गभर्नर चाँडै नियुक्त हुन्छ: कांग्रेस, आतंकवादविरुद्ध पार्टीको दृढ अडान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
869
Shares
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गभर्नर नियुक्तिमा ढिलाइ भएको गुनासोपछि यस्तो आश्वासन दिएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशशरण महतले सभापति देउवाले राष्ट्र बैंकको नेतृत्व मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सक्ने व्यावसायिक व्यक्तिले गर्नुपर्ने बताएको जानकारी दिए। प्रवक्ता महतले सरकारमा रहेका राजनीतिक दलहरूको सहमतिबाटै गभर्नरको नियुक्ति हुने पनि स्पष्ट पारे।
यसैगरी, नेपाली कांग्रेसले कुनै पनि किसिमको आतंकवादको विरुद्धमा आफ्नो स्पष्ट अडान रहेको जनाएको छ। प्रवक्ता महतले भारत र पाकिस्तानबीच भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए। कांग्रेस आतंकवादको विरुद्धमा हुने जुनसुकै कारबाहीलाई पनि जायज ठान्ने उनको भनाइ थियो।
प्रवक्ता महतले भने, ‘भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा निहत्था नागरिक मारिएका घटनाको नेपाली कांग्रेसले कडा शब्दमा निन्दा गरेको छ। पछिल्लो समयमा भारत र पाकिस्तानबीच बढेको द्वन्द्वप्रति हामी चिन्तित छौँ। कांग्रेस सधैँ आतंकवादको विपक्षमा छ र आतंकवादविरुद्ध हुने कारबाहीलाई हामी समर्थन गर्छौं। हामी चाहन्छौँ कि कसैले पनि आतंकवादलाई प्रश्रय नदेओस् र युद्धको स्थिति सिर्जना नहोस्। आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानबाट पनि जवाफी आक्रमण भएको छ। हामी शान्ति चाँडै बहाल होस् भन्ने चाहन्छौँ र आतंकवादलाई निरुत्साहित गर्ने पक्षमा छौँ।’