काठमाडौँ । पञ्जाब किंग्स (पीबीकेएस) ले आइतबार सम्पन्न आईपीएल २०२५ को ५४औँ खेलमा लखनउ सुपर जायन्ट्स (एलएसजी) लाई ३७ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।
यो जितसँगै पञ्जाब अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लखनउ सुपर जायन्ट्सले लगातार तेस्रो हार बेहोरेर सातौँ स्थानमा पुगेको छ।
धर्मशालास्थित एचपीसीए स्टेडियममा पञ्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २३६ रनको विशाल स्कोर खडा गर्यो।
टोलीका ओपनर प्रभसिमरन सिंहले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ९१ रन बनाए, जसमा ६ चौका र ७ छक्का सामेल थिए। कप्तान श्रेयस अय्यरले पनि महत्त्वपूर्ण ४५ रनको योगदान दिए भने शशांक सिंहले अविजित ३३ रन र जोश इंग्लिसले ३० रन बनाए। लखनउका बलरहरूमध्ये दिग्वेश राठी र आकाश महाराज सिंहले २-२ विकेट लिए।
२३७ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो। टोलीको सुरुवात राम्रो हुन सकेन र उसले चाँडै नै धेरै विकेट गुमायो।
आयुष बडोनीले संघर्ष गर्दै ७४ रन बनाए भने अब्दुल समदले ४५ रनको पारी खेले। यद्यपि, अन्य ब्याट्सम्यानहरूले खास प्रदर्शन गर्न सकेनन्। पञ्जाबका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे, जसमा अर्शदीप सिंहले तीन विकेट लिए भने अजमतुल्लाह ओमरजईले २ विकेट हात पारे।
यो जितसँगै पञ्जाबको ११ खेलमा १५ अङ्क भएको छ । पञ्जाब अङ्क तालिकामा रोयल च्यालेन्जर्स बैंगलुरुपछि दोस्रो स्थानमा छ। त्यस्तै, लखनउ ११ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ।