नेपाली विद्यार्थी मारिएपछि सांसदहरुले भने – केआईआईटीमा विद्यार्थी पठाउन बन्द गरौँ
एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण, छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
2.5k
Shares
काठमाडौँ । राष्ट्रियस भाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन् । साथै उनीहरुले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुनेमा जोड दिएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले केआईआईटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले केआईआईटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरे ।
आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे ।
घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुमित्रा विसी थिए ।