केआईआईटीमा भएको प्रिशाको निधनमा शोक व्यक्त गर्दै भारतीय विदेश मन्त्रालयले यसो भन्यो (प्रेस विज्ञप्ति)
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
767
Shares
काठमाडौँ । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थी प्रिशा साहको मृत्यु घटनामा भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रिशाको निधनमा शोक व्यक्त गर्दै प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेकोसमेत जनाएको छ । मन्त्रालयले यो कठिन समयमा शोकाकुल परिवारप्रति समवेदनासमेत व्यक्त गरेको छ ।
विज्ञप्तिमा घटनाबारे जानकारी प्राप्त भएदेखि नै ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख छ । ओडिसा राज्य सरकारले मृतकका परिवारसँग समन्वय गरिरहेको र प्रहरीले घटनामा जाँच गरिरहेको पनि जनाएको छ ।
विज्ञप्तिमा भारत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाउँदै नेपाली अधिकारी, ओडिसा राज्य सरकार र व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
केआईआईटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया प्रिशा छात्रावासको कोठामा झुन्डिएको अवस्थामा बिहीबार फेला परेकी थिइन् ।
यसअघि गत फागुनमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही शैलीमा मृत्यु भएको थियो । उनको मृत्युको अनुसन्धान पनि जारी नै रहेको छ ।