काठमाडौँ । करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन् । देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।
सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरु कर्मथलो फर्किएका हुन् । शिक्षकहरु फर्केसँगै दैनिक प्रभावित हुँदै अशान्त बनेको बिजुलीबजार शान्त भएको छ । बिजुलीबजारको चमक पनि देखिएको छ ।
सहमति बुधबार भए पनि बिहीबार सार्वजनिक भएका कारण स्कुल आजदेखि खुलेका छन् । सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन चालु हुने शिक्षकहरुले बताएका छन् ।
गत चैत २० गतेदेखि शिक्षकहरु विभिन्न सुविधा माग्दै आन्दाेलित भएका थिए । जसका कारण दैनिक माइतीघर, बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ ।