काठमाडौँ । आज बिहीबार अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । हरेक वर्ष धुमधामका साथ मजदुर दिवस मनाउने गरे पनि उनीहरुको अवस्था नसुध्रिएकोमा चिन्ता व्यक्त गरिँदै आएको छ ।
नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार नियमित रोजगारी गर्ने श्रमिक ११ प्रतिशतले घटेका छन् । प्रतिष्ठानमा नियमित श्रमिकको संख्या घट्दै जाँदा श्रम ऐन कार्यान्वयनमा चुनौती थपिँदै गएको प्रतिवेदनमा उल्लेख छ । देशभरका विभिन्न प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिक लगायतका श्रमिक कार्यरत छन् ।
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।
सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।
नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । सरकारले मजदुर दिवसमा सार्वजनिक बिदा दिने गरेको छ ।