सत्तामा बस्नेहरू थाकेर भाग्लान् तर शिक्षकहरू आन्दोलनबाट भाग्दैनन् - अध्यक्ष सुवेदी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
822
Shares
काठमाडौँ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बदनाम गराउन विरोधीहरूले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन् । विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनको २७ औँ दिनलाई सोमबार सम्बोधन गर्दै उनले आइतबार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासङ्घले भर्त्सना गरेको बताए ।
उनले आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी विरोधीहरूले ढुङ्गामुडाको अवस्था सिर्जना गरेर प्रहरीले दमन गरेको आरोप लगाए । उनले सत्तामा बस्नेहरू थाकेर भाग्न सक्छन् तर आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारी माग पूरा नभई आन्दोलनबाट नभाग्ने जिकिर गरे । उनले शिक्षकहरूको २४ बुँदे मागमध्ये सरकारले तत्काल गर्न सक्ने १६ बुँदाको कार्यसूची बनाएको र त्यो नै आधिकारिक दस्ताबेज भएको बताए ।
उनले भने, ‘आज २७ औँ दिन पनि हजारौँ शिक्षक आन्दोलनको मोर्चामा डटिरहेका छन् । यी शिक्षक कर्मचारी साथीहरू थाक्दैनन्,गल्दैनन् भाग्दैनन् । सत्तामा हुनेहरू थाक्लान् तर शिक्षक कर्मचारीहरू थाक्दैनन् गल्दैनन् । हिजो प्रहरीले प्रशासनले बर्बरताको पराकाष्ठा देखायो । नाङ्गो नाँच देखायो । शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारीमाथि केही हेलमेटधारी भिजिलान्तेहरु खटाएर ढुङ्गामुडाको वातावरण सिर्जना गरायो र त्यही निहुँमा लाठी बर्सायो । फोहोरा हान्यो । हामी त्यसको घोर निन्दा गर्दछौँ । सरकारको निर्सम्ससँग शिक्षक कर्मचारी विरोधी अलोकतान्त्रिक कदमको घोर भर्त्सना गर्न चाहन्छौँ । हिजोको ६२ जना साथीहरू घाइते हुनुभएको छ । घाइतेहरू कोही आँखा चिम्लिएर कोही खुट्टो खोच्याउँदै कोही टाउकोमा पट्टी बाँधेर फेरि आन्दोलनको मोर्चामा आउनुभएको छ । केही अफवाहहरू सिर्जना भएका छन् । निश्चित मान्छेहरू सङ्गठित भएर शिक्षक आन्दोलनलाई विभाजन गर्न अनेक थरी कुप्रचार गरिरहेका छन् । त्यो कु प्रचारप्रति सचेत रहन आग्रह गर्दछु । सुन्दै छु कहिले पाँच बुँदे कहिले सात बुँदेको त कहिले नौ बुँदाका के के आइरहेका छन् । हामीले तपाईँहरूलाई डाँट्नु पर्ने केही छैन । नेपाल सरकारले ऐनमा के के गर्नु पर्छ भनेर २४ बुँदे कार्यसूची जारी गरेका छौँ । त्यही नै हाम्रो आधिकारिक डकुमेन्ट हो । सरकारले गर्न सक्ने १६ बुँदाको कार्यसूची बनाएका छौँ ।’