लाप्राकको नमूना बस्तीः भूकम्पको दश वर्ष [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
556
Shares
काठमाडौँ । २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले धार्चे गाउँपालिका–४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनायो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, सहरी विकास मन्त्रालयबीच विसं २०७३ वैशाख १२ गतेको त्रिपक्षीय सम्झौता अनुसार गोरखा जिल्लाको लाप्राकका भूकम्प पीडितका लागि निर्माण गरिदिएको एकीकृत नमुना बस्ती अझै खाली छ ।
धार्चे गाउँपालिका वडा नं ४ गुप्सीपाखामा करिब ३२६ रोपनी क्षेत्रफलमा सो लाप्राकीका लागि नमूना बस्ती निर्माण गरिएको हो । कुल ६०४ घरधुरी रहेको सो नमूना बस्तीमा ५७३ घर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको हो भने बाँकी नेपाल सरकारको भूकम्प राहतबाट बनेको हो ।
बस्ती टाढाबाट हेर्दा सुन्दर र आकर्षक देखिए पनि वास्तविकता भने अलि फरक रहेको छ । अव्यवस्थित निर्माण, कच्चा र कमसल निर्माण सामग्रीको प्रयोग र परिवारको संख्या अनुसार घर निकै सानो रहेकाले लाप्राकीहरुको प्राथमिकतामा पर्दैनन् नमूना बस्तीका घरहरु । ६०४ घर रहेको सो बस्तीमा अहिले ६० परिवारमात्र बस्ने गर्दछन् ।
एनआरएनएले बस्ती निर्माणमा गरेको बदमासी प्रस्ट रुपमा देख्न सकिन्छ । प्लाष्टिकको झ्याल ढोका, चार जना परिवारको लागि पनि सानो हुने घर, पूर्ण रुपमा निर्माण सम्पन्न नगरिएको प्रस्ट देखिन्छ ।
अहिले बस्तीमा बसी रहेका परिवारले पनि सो घर बस्न लायकको बनाउन २ लाखदेखि ४ लाखसम्म खर्च गर्नु परेको ४ नं वडाका अध्यक्ष किसान गुरुङ्गले बताए ।
काठको झ्यालढोका राख्नेदेखि ढुंगा छाप्न, घरको भित्रि संरचना निर्माण गर्न खर्च गर्नु परेको उनले सुनाए । लाप्राक गाउँ पहिलेदेखि पहिरोको जोखिममा रहेको भएता पनि स्थानीयहरुको खेतीबाली गाउँमै हुनाले पनि नमूना बस्तीमा खासै बस्ने नगरेको गुरुङ्गले बताए ।