arrow

शोकमा बुटवल

कश्मीरमा आतङ्ककारी हमलाः मिनी स्विट्जरल्याण्डमा अस्ताए 'सुदीपका सपना'

logo
नारायण वली,
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
sudeep neupane- jammu-kasmir.jpg

लुम्बिनी । भारत–पाकिस्तान सीमावर्ती क्षेत्रमा प्राय तनावका घटना हुने र मानवीय क्षति भइरहने गरेका हुन्छन् । पछिल्ला केही समययता त्यस्ता घटना कमै सुनिएका थिए । तर, मङ्गलावर बेलुका आतङ्कवादीले हिन्दूधर्मालम्बीहरुलाई धर्म सोधी सोधी बीभत्स हत्या गरे । उक्त घटनाले भारतमा तरङ्गित पैदा गर्‍यो भने एक नेपाली युवाको समेत हत्या भएको पुष्टि भएपछि बुटवलसहित देश नै शोकमा डुब्यो । 

बुटवल उपमहानगरपालिका–१४ बेलभरियाका २७ वर्षीय सुदीप न्यौपाने परिवारसहित भारतको जम्मू कश्मीरको पहलगाम (मिनी स्वीटजरल्याण्ड) भनेर चिनिने ठाउँमा घुम्न गएका बेला मङ्गलवार अकल्पनीय आतङ्कवादीको आक्रमणमा परी न्यौपानेको मृत्यु भएपछि बुटवल शोकमा छ । 

कलेजको बिदा पारेर आमा, बहिनी र ज्वाइँसहित त्यहाँ घुम्न गएका सुदीपको दुर्भाग्य भ्रमण जीवन नै अन्तिम बन्न पुग्यो । भारतको जम्मू कश्मीरको पहलगाममा आतङ्कवादी समूहले गरेको आक्रमणमा परी सुदीपसहित २६ जनाको मृत्यु भयो । मारिनेमध्ये २४ जना पर्यटक थिए । त्यत्तिकै संख्यामा घाइते भएका छन् । सुदीपकी आमा, बहिनी र ज्वाइँ भने भागेर बाँच्न सफल भए ।

आतङ्कवादीले त्यहाँ घुम्न गएका पर्यटकलाई कुन धर्म मान्ने हो ? भन्दै सोधेर हिन्दू भने जतिकालाई लक्षित गरेर गोली हानेका थिए । त्यही गोलीको  नजरमा परेका सुदीप पराईको भूमिमा ढल्न पुगे । 

प्रतिबन्धित आतङ्कवादी समूह लश्कर–ए–तैयब (एलईटी) को शाखा मानिने द रेजिस्टेन्स फ्रन्ट ले घटना घटाएको बताइएको छ । आतङ्कवादी समूहले भारतको पहलगामस्थित पर्यटकीय क्षेत्रमा आक्रमण गरेको र त्यो आक्रमणमा परेर एक नेपालीको मृत्यु भएको समाचार बुधबार सञ्चार माध्यमहरूमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दुखदका शब्दहरू आइरहेका थिए । त्यसपछि ती नेपालीबारे सोधखोज शुरु भएको थियो ।

पारिवारिक स्रोतका अनुसार सुदीप आमा रिना, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग शनिबार बुटवलबाट पहलगाममा घुम्न गएका थिए । उनीहरू शनिबार बेलुका बुटवलबाट दिल्लीका लागि छुट्ने नेपाल–भारत मैत्री बस सेवाको लु २ ख ६६३४ नम्बर बसमा इटाभट्टीबाट टिकट काटेर चढेका थिए । 

दिल्लीसम्म बसमा गएपछि त्यहाँबाट उनीहरू जहाजमा कश्मीर पुगेका थिए । उनीहरू पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतङ्ककारीहरूले मंगलबार दिउँसो एक्कासि गोली चलाएपछि सुदीपको ज्यान गएको उनीहरूले त्यहाँबाट म्यासेन्जरमा नातेदार बुटवल उपमहानगर–१४ का वडाध्यक्ष दधिराम न्यौपानेलाई जानकारी गराएको बताइन्छ ।

सुदीपको ज्यान गए पनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन् । उनीहरू शव सँगै बुटवल घर आइपुगेका छन् । श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म जहाजमा र त्यहाँबाट बेलहिया नाका हुँदै सडक मार्गबाट शवलाई बुटवल ल्याइएको छ । 

सुदीपका आमाबुबाको सम्बन्धबिच्छेद भएपछि उनी बुटवल उपमहानगर–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ मा पर्दछ । सुदीपका बुवा कौशलराज न्यौपाने सामुदायिक विद्यालयका शिक्षक रहेको बुझिएको छ ।

उनीहरू २०२४ सालमै बसाइँ सरेर बुटवल आएको बेलभरिया स्थानीय बासिन्दा थानेश्वर पौडेलले बताए । घुम्न गएका निर्दोष व्यक्तिको ज्यान गएपछि बेलभरिया गाउँ यतिबेला शोकमग्न भएको पौडेल बताउँछन् । 

जम्मू–कश्मीर प्राकृतिक सुन्दरताको निम्ति विश्वभर चर्चित छ । घाँसे मैदान र नीला तालहरूले सजिएको पहलगाम रमणीय देखिन्छ । त्यही सुन्दरतामा रमाउन पुगेका २४ पर्यटकसहित २६ जनाको गोली हानी हत्या भयो । करिब त्यति नै घाइते भए । नेपालबाट जम्मू–कश्मीरको सुन्दरता नियाल्न आमा र बहिनीसहित गएका २७ वर्षीय न्यौपानेले पनि ज्यान गुमाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ