लगातार हेर्न नभ्याइनेमा पर्यो भावी गभर्नर भट्ट विरुद्धको निवेदन
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
709
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकका भावी गभर्नर डा गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन सोमबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।
गभर्नरका लागि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएलगत्तै गभर्नर हुने भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
सर्वोच्च अदालतमा आइतबार पनि निवेदन हेर्न नभ्याइनेमा परेको सो निवेदनमा सोमबार पनि सुनवाइ हुन सकेन ।
गभर्नर नियुक्तिका लागि उमेरहद संशोधन कार्यान्वयन नगर्न परेको रिट र भट्टलाई गर्भनरमा नियुक्त नगर्न परेको निवेदनमाथि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
तर अन्तिममा हेर्न नभ्याइनेमा परेको हो ।
सोमबार १३औं नम्बरमा परेका ती रिट र निवेदन आइतबार भने न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा ४० औँ नम्बरमा राखिएको थियो ।
उक्त संशोधनविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले चैत ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरुले नै गत शुक्रबार गर्भनरमा भट्टलाई नियुक्ति नगर्न मागसहित पूरक निवेदन दिएका हुन् ।