काठमाडौँ । यसपालि सरकारमा जस्तै र नेपाल पत्रकार महासंघमा जस्तै सञ्चारिकामा पनि गठबन्धन भएको छ । गठबन्धनसँगै प्रेस चौतारीकी कमला पन्थीले १४९ मत ल्याइन् । प्रेस चौतारीकी भएर पनि उपाध्यक्षबाट अध्यक्षमा लडेकी पवित्रा सुनारले ८७ मत ल्याइन् । उनलाई चौतारीले कारबाही गरेर संगठनको साधारण सदस्य समेत नरहने बताइसकेको छ ।
यस्तै उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मत प्राप्त गर्दै निर्वाचित हुँदा लोग्शरी कुँवरले १०० मत ल्याइन् । कुँवर प्रेस चौतारीकी तत्कालीन सचिव हुन् । उनलाई पनि चौतारीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।
सञ्चारिका समूहको महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भइन् । उनी प्रेस युनियनकी हुन् । सचिवमा उर्वसी बस्न्यात १०७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी नुनुता राई मात्र चार रनले पराजित भइन् । बस्न्यात प्रेस चौतारीकी र राई प्रेस सेन्टरकी हुन् ।
यस्तै कोषाध्यक्षमा साजना तामाङ १२० मत प्राप्त गर्दै निर्वाचित भइन् भने प्रेस सेन्टरकी मञ्जिमा ढकालले १०५ मत प्राप्त गरेकी छिन् ।
८ जना सदस्यमा अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी साकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएका छन् । जसमा चापागाई र रेग्मी प्रेस चौतारी निकट पत्रकार भए पनि उनीहरुले बागी उम्मेदवारी दिएका थिए ।
बागी उम्मेदवारी दिएको भन्दै प्रेस चौतारीले दुवै जनालाई संगठनको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेको छ । चापागाई प्रेस चौतारीको हालै सम्पन्न अधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी थिइन् ।
नेतृत्वसँगै पदाधिकारी सुरक्षित गर्नका लागि प्रेस चौतारीले आफ्ना पत्रकारलाई गुमाएको छ ।