सुपर ओभरमा राजस्थानलाई हरायो दिल्लीले, पुग्यो शीर्ष स्थानमा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
593
Shares
काठमाडौँ । दिल्ली क्यापिटल्स (डीसी) ले आईपीएलको १८औँ संस्करणको पहिलो सुपर ओभरमा राजस्थान रोयल्स (आरआर) लाई पराजित गरेको छ।
सुपर ओभरमा राजस्थानले पहिले ब्याटिङ गर्दै मिचेल स्टार्कको बलिङमा ११ रन बनाएको थियो। दिल्लीबाट केएल राहुल र ट्रिस्टन स्टब्सले सन्दीप शर्माको बलिङमा ४ बलमै लक्ष्य पुरा गरे।
अरुण जेटली स्टेडियममा बुधबार राजस्थानले बलिङ रोजेको थियो। दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनाएको थियो। राजस्थानले पनि ४ विकेटको क्षतिमा १८८ रन नै बनाउन सक्यो।
मिचेल स्टार्कले २०औँ ओभरमा शिमरोन हेटमायर र ध्रुव जुरेलविरुद्ध ९ रन बचाउँदै खेल टाई गराएका थिए।
राजस्थानबाट नितिश राणा र यशस्वी जायसवाल दुवैले अर्धशतक बनाए। कप्तान सञ्जु सामसन ३१ रन बनाएर चोटका कारण बाहिरिएका थिए।
जोफ्रा आर्चरले २ विकेट लिए। दिल्लीबाट अभिषेक पोरेलले ४९ रन बनाए। कुलदीप यादव, अक्षर पटेल र मिचेल स्टार्कले १-१ विकेट लिए।
दिल्लीका तीब्र गतिका बलर मिचेल स्टार्कले टोलीलाई खेल जिताए। उनले पहिले २०औँ ओभरमा ९ रन बचाएर खेल टाई गराए। स्टार्कले राजस्थानका अर्धशतक बनाइसकेका नितिश राणालाई पनि पवेलियन फर्काए।
त्यसपछि स्टार्कले सुपर ओभरमा पनि मात्र ११ रन खर्चिए र टोलीलाई ठूलो लक्ष्य बनाउन दिएनन्।
६ खेलमा ५ जितपछि दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। अर्कोतर्फ ७ खेलमा पाँचौं हारपछि राजस्थान आठौं नम्बरमै यथावत छ।