देशमा स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
879
Shares
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा मौसम सफा रहने जनाएको छ। हाल देशमा स्थानीय वायुको प्रभाव रहेकाले पहाडी भेगमा भने आंशिकदेखि साधारणतया बदली रहनेछ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसका साथै देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले बताएको छ।