काठमाडौँ । चेन्नई सुपर किंग्सले आईपीएल २०२५ अन्तर्गत सोमबार राति भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई जारी सिजनमा लगातार पाँच हारपछिको पहिलो जित दर्ता गरेको छ। लखनऊको इकाना स्टेडियममा भएको खेलमा चेन्नईले टस जितेर फिल्डिङ रोजेको थियो।
पहिला ब्याटिङ गर्दै लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रेको चेन्नईले १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनीले ११ बलमा २६ रनको महत्त्वपूर्ण योगदान दिए। शिवम दुबेले अविजित ४३ रन बनाए भने रचिन रवीन्द्रले ३७ र शेख रशीदले २७ रनको योगदान दिए। बलिङतर्फ रवीन्द्र जडेजा र मथीश पथिरानाले २-२ विकेट लिए। लखनऊका लागि ऋषभ पन्तले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन्। रवि बिश्नोईले २ विकेट लिए।
सातौँ नम्बरमा ब्याटिङ गर्न आएका धोनीले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। उनले ११ बलमा १ छक्का र ४ चौका प्रहार गरे। धोनीले शिवम दुबेसँग छैटौं विकेटका लागि ५७ रनको साझेदारी गर्दै जितको आधार खडा गरे।