देशमा अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : पहाडी भेगमा वर्षा, हिमालीमा हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
544
Shares
काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
कोशी प्रदेशका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।