कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा हिजो आज ऐँसेलु बेच्ने स्थानीयहरुको बाक्लै भीड लाग्ने गर्दछ । पाखा, डाँडा र खर्कहरुमा फल्ने ऐँसेलु अहिले सो क्षेत्रका स्थानीयहरुको आम्दानीको स्रोत बनेको छ ।
पोखरा बाग्लुङ सडक खण्डमा यात्रा गर्ने प्रायः हरेक यात्रुले यहाँको ऐँसेलु किन्ने गर्दछन् । प्रति सोली (पातबाट बनाइएको सोली) १०० रुपैयाँमा बिक्री हुने ऐँसेलु टिप्न भने एक बिहानै खर्च गर्नु पर्ने स्थानीय ऐँसेलु व्यापारी रशिका विश्वकर्माले बताइन् ।
बिहानै अधेरीखोला तीरमा जानुपर्ने, टिप्नको लागि गाह्रो हुने काँडाले घोच्ने उनले बताइन् ।
त्यस्तै ऐँसेलु बेचेरै प्रतिदिन २ हजारसम्म कमाई हुने स्थानीय अस्मी विश्वकर्माले बताइन् । तर ऐँसेलु वर्षको चैत्र–वैशाख–जेठ महिनामा मात्र फल्ने हुँदा अन्य दिन खेती किसानी नै गर्ने गरेको उनले सुनाइन् ।
गाउँमा धेरै मात्रामा ऐँसेलु फल्ने भए पनि त्यसको सही उपयोग हुन नसकेको स्थानीयले बताए । पूर्वका केही जिल्लामा वाइन बनाउन र जुस बनाउनको लागि ऐँसेलुको उपयोग गरी राम्रो आम्दानी गरेको भए पनि हाम्रोमा त्यसो हुन नसकेको स्थानीयले गुनासो गरेको छ ।
ऐँसेलु नेपालको पहाडी भेगलगायत भारत, पाकिस्तान, चीनमा पनि पाइन्छ ।
ऐँसेलु स्वादिलो र रसिलो फल मात्र होइन । यसमा भिटामिन सी, फिनोल, फ्लेवोनोइड जस्ता सुक्ष्म पोषक तत्व हुन्छ ।
ऐसेलुको जरामा औषधीय गुण हुन्छ । ज्वरो आउँदा, झाडापखाला लाग्दा, ग्याष्ट्रिक हुँदा ऐँसेलुको जरा सेवन गर्नु फाइदाजक हुन्छ ।