कुलमानलाई पुनर्बहाली गर्न माग गर्दै ओली सरकारविरुद्ध आन्दोलन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
798
Shares
काठमाडौँ । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट अपमानजनक ढंगबाट हटाएको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।
कुलमानलाई पुनर्बहालीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले प्राधिकरणबाट घिसिङलाई हटाउने कामको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे ।
आइतबार भएको प्रदर्शन कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा भएको हो ।
सयौँ प्रदर्शनकारीहरूले कुलमानलाई अपमानित ढङ्गले बर्खास्त गरिएको भन्दै पुनर्बहालीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले कुलमानलाई ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । उनको बर्खास्तीसँगै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको पदमा नियुक्त गरेको थियो ।
तर आफूलाई हटाइएपछि अदालत पुगेका कुलमानको पक्षमा भने फैसला आएन । उनी नियुक्त हुँदा हितेन्द्रदेव कार्यकारी थिए । हितेन्द्रलाई हटाएर उनलाई कार्यकारी बनाइएको नजिरसहित अदालतले अहिले उनलाई हटाएर हितेन्द्रलाई ल्याउनु उही भएको फैसला गरेको हो ।
कुलमानलाई नहटाएको भए उनको पदावधि आउँदो साउनमा सकिने थियो ।
यता कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउनसमेत माग गरिएको छ । विरोधमा उत्रिएकाहरुले कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउन मागसहितका व्यानर बोकेका थिए ।