सिठ्ठी फुकेर सरकार जगाउँदै आन्दोलित शिक्षक, बालबालिका पनि साथमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
850
Shares
काठमाडौँ । शिक्षकहरुको आन्दोलन जारी रहेको छ । गत चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलन थालेका शिक्षकहरुले आइतबार सिठ्ठी फुकेका छन् । हरेक दिन नौलो शैली अपनाउँदै आएका शिक्षकहरुले आइतबार सिठ्ठी फुकेर सरकारलाई जगाउने प्रयास गरेका हुन् ।
चैत २१ गते नै सरकारले शिक्षकलाई वार्तामा बोलाए पनि सोचेअनुसारको सफलता हात नलागेपछि शिक्षकले आन्दोलनलाई जारी राखेका हुन् । आइतबारको आन्दोलनमा बालबालिकासमेत सहभागी गराइएको छ ।
आफ्नै छोराछोरी ल्याएको भए पनि त्यसले दिने सन्देश भने नराम्रो नै जान्छ । नेपाल शिक्षक महासंघको आयोजनामा काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन भइरहेको हो ।
गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले चैत २० गतेदेखि ‘काठमाडौँ जाऔँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन थालेको हो ।
एसईईको परीक्षाअघि नै आन्दोलन थालेका शिक्षकहरुले एसईई सकिएपछि अब सरकारलाई सडकबाट पढाउन थालेका हुन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताएका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गरिएको अध्यक्ष सुवेदीको भनाइ छ ।
आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी भइरहेको उनको दाबी रहेको छ । काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने उनले चेतावनी दिए ।
उक्त सडक आन्दोलनका कारण माइतीघरदेखि नयाँ बानेश्वरसम्मको जुलुसले वरिपरिको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै आएका छ ।