देशमा तापक्रम बढ्दो, हिमाली भेगमा हिमपातको सम्भावना : तीन दिन यस्तो रहनेछ मौसम
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
771
Shares
काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आंशिक बदली देखिएको छ। नेपालमा तापक्रम बढ्दै गएको छ भने उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षाको सम्भावना कम रहेकाले सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। वर्षाको सम्भावना कम रहेकाले सुख्खापन, आगलागी र वायु प्रदूषण बढ्ने जोखिम औँल्याइएको छ।
"देशका अधिकांश भू-भागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको छ," महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "वर्षाको सम्भावना कम रहेकाले सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेको छ।"
यस्तो अवस्थामा स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
तीन दिनको मौसम पूर्वानुमान:
आज बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भेगमा आंशिक बदली र हल्का हिमपातको सम्भावना छ। पहाडी भेगमा आंशिक बदली र तराईमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो र राती दुवै समयमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ।
बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भेगमा आंशिक बदली र हल्का हिमपातको सम्भावना छ। बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। अन्य भेगमा आंशिक बदली रहनेछ। कर्णाली प्रदेशमा दिउँसो र राती दुवै समयमा आंशिक बदली रहने छ।
शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भेगमा आंशिक बदली र हल्का हिमपातको सम्भावना छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई भेगमा रातीको समयमा मुख्यतया सफा रहने छ। पहाडी भेगमा आंशिक बदली र तराईमा सफा मौसम रहनेछ।