तस्बिर – सन् २०१९ मा जेपी नड्डालाई नरेन्द्र मोदीलाई अगाडि राखेर कार्यकारी दिँदै अमित शाह, फाइल ।
काठमाडौँ । भारतीय जनता पार्टी भाजपाले एक महिनाभित्र नयाँ अध्यक्ष पाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नागपुर भ्रमणपछि चुनावी प्रक्रिया तीव्र भएको जनाइएको छ । स्रोतलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले गत आइतबार भएको मोदी र संघ प्रमुख मोहन भागवतको कुराकानीमा नयाँ अध्यक्षको नामबारे चर्चा भएको छ ।
मोदीले नागपुरबाट फर्केपछि पार्टीका वरिष्ठ नेताहरुसँग पनि छलफल गरेका छन् । मोदीले वर्तमान अध्यक्ष जेपी नड्डा, पूर्व अध्यक्ष अमित शाह, राजनाथ सिंह र संगठन महामन्त्री बीएल सन्तोषसँग राज्यको संगठनात्मक चुनावबारे छलफल गरेका हुन् ।
प्रधानमन्त्री मोदीले नड्डा र बीएल सन्तोषसँग अप्रिल महिनाभित्रै भाजपा अध्यक्षको चुनाव सम्पन्न गर्न भनेको भारतीय मिडियाहरुले लेखेका छन् ।
भाजपाले अहिलेसम्म १३ राज्यका प्रदेश अध्यक्ष चुनिसकेको छ । राष्ट्रिय अध्यक्षका लागि कम्तीमा १९ राज्यमा चुनाव पूरा गर्नु जरुरी छ । ५० प्रतिशत राज्यमा चुनाव भएपछि राष्ट्रिय अध्यक्षको चुनाव गर्न सकिन्छ ।
आगामी सातासम्म उत्तर प्रदेश, पश्चिम बंगालसमेत बाँकी प्रदेश अध्यक्षको नाम घोषणा हुने बताइएको छ ।
हालका अध्यक्ष जेपी नड्डा सन् २०२० को जनवरीमा अध्यक्ष बनेका थिए । सन् २०१९ मा अमित शाह गृहमन्त्री बनेसँगै जेपीलाई सन् २०१९ मा कार्यकारी अध्यक्ष बनाइएको थियो । त्यसको छ महिनापछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका थिए ।
भाजपा अध्यक्षको कार्यकाल पाँच वर्षको हुने गर्छ ।
सम्भावित नाममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नाम पनि चर्चामा छ । यद्यपि उनले एक सञ्चार माध्यममा आफू पूर्णकालीन राजनीतिज्ञ नभएको बताएका छन् । तर उनलाई मोदीको उत्तराधिकारीका रुपमा पनि हेरिएकाले अहिले अध्यक्ष र मोदीको कार्यकाल सकिएपछि प्रधानमन्त्रीको सोचसमेत रहेको बताइन्छ ।
भाजपाले अहिले सम्भावितको नाम बताइसकेको छैन । आन्तरिक रुपले मोदी निकै नै गम्भीर भएर लागिसकेकोसमेत बताइन्छ ।