उर्जामन्त्री भन्छन् - प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ [भिडियो]
प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्याउने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
714
Shares
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको बताए ।
उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नको लागि प्रतिस्पर्धा गर्न आग्रह समेत गरे । उनले कर्मचारीहरूले कानून र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी समेत दिए । उनले मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत सबैको ध्यानाकर्षण गराए ।
उनले भने, ‘कानूनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहिँ स्वेच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ । प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ । कर्मचारी साथीहरूलाई पनि हेर्छु म को चाहिँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कहीँ पुर्याउँदैन । साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौँ मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ । काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानूनभित्र बसेर काम गर्ने हो । यसमा तपाईँहरूको पनि ध्यान जाओस् ।’
उनले सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्याउने लक्ष्यसहित काम गरिरहेको बताए । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ ।
उनले भने, ‘सरकारले सन् २०३५ सम्ममा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत वार्षिक एक हजार ५०० युनिट पुर्याउने लक्ष्यसहित स्वीकृत मार्गचित्रमा राष्ट्रि ग्रिड नपुगेको ठाउँमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत अगाडि २ वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्याउने लगायतका लक्ष्य रहेका छन् ।’