चितवन । त्रिशूली नदीमा आज बिहानै ट्रक खस्दा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा रौतहट घर भएका ३५ वर्षीय रामनारायण यादव रहेको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालकको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा गम्भीर घाइते भएका सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादवको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ६ बजे कोइला बोकेको बागमती प्रदेश ०३-००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भई मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनाका कारण ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिन्छ । ट्रकलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।