कास्कीको पोखरा महानगरपालिका २९ भण्ढारढिकस्थित जनप्रकाश माध्यमिक विद्यालय परीक्षा केन्द्रमा शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन जाँदै विद्यार्थीहरू । रासस
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एसइई सञ्चालन भएको छ ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भइरहेको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।
चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
फलामे ढोका खोल्दै विद्यार्थीहरु
एसईईलाई अहिले पनि निकै महत्वका साथ हेरिन्छ । त्यसैले त विद्यालयहरुको तडकभडक पनि उत्तिकै देखिन्छ । हुनत हरेक कक्षा विद्यार्थीका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
तर एसईईपछि आफूले रोज्ने र पढ्न मिल्ने गन्तव्य फरक हुने भएकाले विद्यार्थीदेखि अभिभावक र विद्यालयलेसमेत निकै चासोका साथ हेरेका हुन्छन् ।
यो आज घरघरमा भएको छ । किनकि विद्यार्थीहरु फलामे ढोका उघार्न जाँदैछन् ।
आजकल एसईईलाई फलामे ढोका भन्न छाडिए पनि विद्यार्थीलाई पढ्ने वातावरण नबनाउने तर उत्तीर्ण प्रतिशत ७० सम्म पुर्याउने सरकारको अभियानले भने परीक्षा निष्पक्ष हुनेमा शंका उब्जिएको छ ।
परीक्षा हुनुअघि शिक्षकहरु आन्दोलित हुनु, प्रधानमन्त्रीदेखि नेतासम्म जाँदा विद्यालय नै बन्द गरिनुले पनि शिक्षामाथि कत्तिको राजनीति भइरहेको छ भन्ने स्पष्ट हुन्छ ।
फोटोफिचरका अधिकांश तस्बिरहरु काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित लालीगुराँस माध्यमिक विद्यालयका हुन् । त्यहाँ विद्यार्थीहरूलाई शिक्षकहरूद्वारा टीका र सगुनको स्वरूप दही खुवाएर स्कुल प्राङ्गणबाट बिदाई गरिएको थियो।