बुटवलमा कुकुर आतंकः पाँच दिनमा दुई सय २२ जनालाई टोक्यो
अस्पतालमा एआरभी इन्जेक्सन केही समयलाई मात्रै मौज्दात, टोकाईको प्रकृति हेर्दा थ्री डिग्री बाइट, एआरभीसँगै इआर आइजी र एचआर आईजी पनि लगाउनुपर्ने
नारायण वली,
प्रकाशित २०८१ चैत ६ बुधबार
1k
Shares
लुम्बिनी । बुटवलमा दिनदहाडै कुुकुरको टोकाईबाट सर्वसाधारणहरु पीडित बन्न पुगेका छन् । फागुन २७ गतेदेखि गोलपार्कमा कुकुरको टोकाईबाट एकैदिन ४५ जना पीडित बन्न पुगेको प्राप्त तथ्यांकले देखाएको छ ।
सोही ट्राफिक चोकमा सावित्रा काइरालालाई टोक्दा हातको ठूलो नसा र मासुको भाग लगेर फ्याक्चर भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गत आइतबार अप्रेशन गरिएको छ ।
घाइते बनेकी कोइरालालाई कुकुरबाट छुटाउन खोज्दा उनका श्रीमान् हरिलाल पौडेललाई पनि खुट्टामा टोकेको छ । बुटवल उपमहानगरपालिका वडा न-९ तीनकुने नजिकै मोती पथमा बस्दै आएकी दिना थापा मगरलाई चैत ३ गते सिद्धार्थ कटेज अगाडी दिउँसो ३ बजेतिर टोक्यो । दिनालाई उपचारका लागि लुम्बिनी प्रादेशिकको इमर्जेन्सीमा पुर्याएपछि बेहोससमेत भएको उनी बताउँछिन् । उनका अनुसार कुकुरको रंग खैरो थियो ।
सोमबार (चैत ४) बुटवल उपमहानगर वडा न-७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी स्कुल अगाडि मोटरसाइकलमा सवार सुन्दर पाण्डेलाई देब्रे खुट्टामा टोकेको छ ।
इन्जेक्सन लगाउन अस्पतालमा आएका पाण्डेले मोटरसाइकल चलाएको बेलामा पनि आएर झम्टिएर टोक्यो । बुटवलका सडकमा हिँड्दा निकै जोखिम बढेकाले बालबालिकालाई झन चुनौती बढेको उनको भनाइ छ । उनले आफूलाई सेतो कुकरले टोकेको बताए ।
बुटवलमा चैत ४ गतेसम्मको लुम्बिनी प्रादेशिक अस्पतालको एआरभी शाखाले राखेको विवरण अनुसार फागुन २९ गते ४५ जना, चैत १ गते २० जना, २ गते ४५ जना, ३ गते ९२ जना र ४ गते २० जना गरी कुल २ सय २२ जनालाई कुकुरले टोकेको पाइएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल एआरभी शाखा इन्चार्ज तिलकराज गौतमले एकसाता यता गोलपार्कदेखि कालिकानगर, सुख्खानगर, दीपनगर र नयाँ बसपार्क लगायत ठाउँमा कुकुरले टोकेर इन्जेक्सन लगाउन आउनेहरुको भीड बढेको छ ।
यो हेर्दा निकै गम्भीर बिषय हो । इन्चार्ज गौतमले अहिले अस्पतालमा एआरभी इन्जेक्सन मौज्दात छ । केही समय धानिन्छ तर यसरी महामारी जस्तै कुकुरले टोक्न थालेपछि अभाव सिर्जना हुनसक्ने भन्दै टोकेपछि तुरुन्तै इन्जेक्सन लगाउनुपर्ने सुझाए ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका कोल्ड चेन निरीक्षक हरिप्रसाद आचार्यले माग अनुसार इन्जेक्सन नआए पनि हाललाई मौज्दात रहेको बताए । खासमा ५ हजार ८ सय चाहिन्छ । तर ५ हजार ४ सय आएको छ । तत्काल एक महिनालाई पुग्छ, यस्तै बजारमा कुकुरको बिगबिगीले एकै दिन धैरे जनालाई टोक्न थालेपछि इन्जेक्सन अभाव हुने भएकाले सम्बन्धित निकायले कुकुर नियन्त्रणमा ध्यान दिन आग्रह गरे ।
बुटवल उपमहानगरपालिका भेटेनरी शाखाका पशु डाक्टर झविन्द्र बञ्जाडेले यो वर्ष बुटवल उपमहानगर-११ मा शिविर राखेर ३ सय कुकुरको बन्ध्याकरण गरेको बताउँदै कुकुर र बाँदरलाई व्यवस्थापन गर्नका लागि क्विक रेस्पोन्स टिम गठन गरी खोजीकार्यलाई तीव्रता दिएको बताए । उनले भने, 'हामीले नियन्त्रणमा लिएर देवदहस्थित रहेको कुकुर व्यवस्थापन केन्द्रमा पठाउने तयारीका साथ जुटेका छौं ।'
तर उनले हालसालै कुकुरको टोकाइकाट पीडित बनेकाहरुको बारेमा भने नगरपालिकाको प्राविधिक टोलीले पुष्टि नगर्दासम्म बौलाएको हो कि होइन भन्ने यकिन गर्न नसकिने दाबी गरे ।
यता लुम्बिनी प्रादेशिक अस्पतालका एक फिजिसियन डाक्टरले नाम नखुलाउने सर्तमा भने, 'टोकाईको प्रकृति हेर्दा कुकुर कडा खालको छ, यो थ्रि डिग्री बाइट हो । हाइ रिस्क हुन्छ । एआरभीसँगै इआर आइजी र एचआर आईजी पनि लगाउनुपर्ने हुन्छ ।
बुटवल उपमहानगर नगरप्रहरीसहित परिचालन गरिएको छ भन्ने उक्त टोलीले नभेटाएको कुकुरले मंगलबार बुटवल उपमहानगर वडा न-९ कालिका पथमा रहेको शिवालय मन्दिर अगाडि तिलोत्तमा नगरपालिका वडा न-१ का युनिस आलेको अनुहारमा डरलाग्दो तरिकाले टोकेको पाइएको छ ।
अस्पताल स्रोतका अनुसार घाउ ठुलो भएकाले अप्रेसन गर्नुपर्ने बताए । उनले थपे कुकुरको रंग खैरो थियो ।