arrow

गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
dadhalo-aaglagi-jungle.jpg
फाइल तस्बिर

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका-३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । 

आइतबार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहेपनि डढेलो नियन्त्रण बाहिर रहेको हो । गोरखनाथ वनको डढेलो फैलँदै आज बिहान चिसापानी सामुदायिक वनसम्म पुगेको छ ।

उक्त गाउँपालिका ३ र ५ नं वडाको सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको जनाइएको छ ।

सोमबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलगायत वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको सक्रियतामा डढेलो नियन्त्रणको प्रयास भएपनि नियन्त्रणमा आउन सकेको छैन ।

मंगलबार बिहानैदेखि बेथानचोक प्रहरी टोली स्थानीयसँग मिलेर डढेलो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

सोमबार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हुर्का भञ्ज्याङको मानवबस्तीलाई डढेलोबाट जोगाउन एन्टिफायरिङ गराएर फर्किएको थियो ।

एन्टी फायरिङ गरिएपनि बस्ती पूर्णरूपमा सुरक्षित नरहेको बेथानचोक-३ का वडाध्यक्ष कुवेर ढकालले बताए ।

हावाहुरीका कारण पूर्ण नियन्त्रणमा लिनसक्ने अवस्थ नरहेकोले सचेत र सावधानी अपनाएर बस्न स्थानीयबासीलाई आग्रह गरिएको ढकालले बताए ।

डढलो लागेको ठाउँमा निकै सुक्खा र पानीको अभाव रहेकाले आगो निभाउन कठिन भएको ढकालको भनाइ छ ।

उनकाअनुसार करिब १ सय ९३ हेक्टर क्षेत्रफल रहेको गोरखानाथ सामुदायिक वनको करिब ७ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको अनुमान गरिएको छ । बोल्देबाट फैलिएको डढेलो अहिले हर्कभञ्ज्याङसम्म आइपुगेको बताइएको छ । 

हावाहुरीका कारण डढेलो फैलिँदै थलीडाँडा, च्याल्टी, नारायणस्थानसम्म पुग्ने जोखिम देखिएको छ । वनमा डढेलो फैैलिरहेकाले नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयका वन अधिकृत चिनीकाजी श्रेष्ठले बताए । 

वडाध्यक्ष ढकालका अनुसार थलीडाँडा र हर्कभञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको छ भने डढेलो देब्रेतर्फ फैलिँदै गयो भने मानवबस्ती जोखिममा पर्नसक्छ । डढेलोका कारण वरपरको क्षेत्रमा धुवाँ-तुवाँलोले वातावरण प्रदुषित हुँदै गएको स्थानीयबासीको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ