संशोधन प्रस्ताव फिर्ता नहुञ्जेलसम्म संसद्को अवरोध उस्तै : महासचिव पोखरेल
प्रकाशित २०७३ पुष २३ शनिबार
980
Shares
काठमाडौँ । एमाले महासचिव ईश्वर पोखरेलले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुञ्जेलसम्म संसद् अवरोध कायम हुने बताएका छन् । सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चले गरेको ‘पार्टी प्रशिक्षण तथा सम्मान’ कार्यक्रममा महासचिव पोखरेलले आइतबार पनि संसद् बैठक अवरोध हुने बताए ।
उनले बेमौसमी ढङ्गले संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव स्थगन गरेर निर्वाचनबारेमा बहस हुनुपर्ने बताए । महासचिव पोखरेलले संविधान संशोधनका विरुद्ध एमालेले राखेको अडान छोडे देश गम्भीर मोडमा पुग्ने भन्दै देश हित प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नदिने बताए ।
‘संविधान संशोधनमा पार्टीले राखेको अडानबाट एमाले पछि हटे देशले गम्भीर सङ्कट व्यहोर्नु पर्छ’– उनले भने, ‘देशलाई सङ्कटबाट जोगाउन एमाले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म पछि हट्दैन ।’ दलीय राजनीतिक स्वार्थले प्रेरित भएर संविधान संशोधनको विरोध नगरेको स्पष्ट पार्दै उनले राष्ट्रिय हितको रक्षाका लागि निम्ति आफूहरु विरोधमा उत्रिएको बताए । रासस