विखण्डनकारी राष्ट्रवादले कसैको हित हुँदैन : उर्जामन्त्री शर्मा
प्रकाशित २०७३ पुष २३ शनिबार
1.1k
Shares
रौतहट । ऊर्जामन्त्री जनार्दन शर्माले विखण्डनकारी राष्ट्रवादले कोही कसैको हित नगर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल रौतहट शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको सर्वस्वीकार्यता बढाउन खोज्दा त्यसलाई अवरोध गर्ने, मधेसी, आदिवासी, जनजाति थारु र अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भन्नु संविधान नै असफल बनाउने प्रवृत्ति भएको उल्लेख गरे ।
संसद्लाई बन्धक बनाएर निर्वाचनको मात्र कुरा गर्नुले प्रतिपक्षीहरु निर्वाचन चाहेका छैनन् की भन्ने शङ्का उत्पन्न भइरहेको मन्त्री शर्माको भनाई छ । नेपालको सार्वभौमसत्ता, अखण्डता र गणतन्त्र बाहेकका विषयमा संविधान संशोधन गर्न सकिने भएकाले संविधान संशोधन हुनै सक्दैन भन्नु निरङ्कुश चरित्र भएको मन्त्री शर्माको टिप्पणी छ । ‘निरङ्कुश संविधान मात्रै संशोधन हुन सक्दैन, लोकतान्त्रिक संविधान संशोधन हुन्छ’–मन्त्री शर्माले भने ।
मन्त्री शर्माले आफूहरु सरकारमा रहँदा वा नरहँदा मधेसी, आदिवासी जनतजाति तथा अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्नुपर्छ भनेर लागेको र अहिलेको संशोधन प्रस्ताव पनि सोही प्रयोजनकालागि ल्याइएको स्पष्ट पारे ।
फरक एक प्रसङ्गमा तराई मधेसका क्षेत्रमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेकाले त्यसलाई रोक्न स्थानीय युवालाई परिचालित हुन आग्रह गरे । त्यस्तै, गौर र कलैयालाई हुकिङ मुक्त क्षेत्र बनाउने अभियान घोषणा गरिएकाले त्यसलाई कार्यान्वयन गर्न सबैको सहयोग जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । रासस