किन दुःख दिँदैछ मेलम्चीले पटक पटक उपत्यकावासीलाई ? [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
892
Shares
काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ ।
थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
उनले भने, “पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ ।”
थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ ।
यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न भएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए ।
यता, खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी चालु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउना साथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मगरी नागरिकलाई शुद्ध पानी वितरण गर्न निर्देशन दिएका हुन् ।
मन्त्री यादवले भने, ‘हाल म नेपाल र भारत सरकारबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी चालु गर्न निर्देशन दिइसकेको छु ।’
यसैगरी मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘थापाथली चोकबाट नर्भिक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइप फुट्दा सर्वसाधारणलाई परेको असुविधाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । सो घटनाका विषयमा छानबिन गर्छौँ ।’
मन्त्री यादवको निर्देशन पश्चात केयूकेएलको प्राविधिक टोलीले मर्मत कार्य तीव्र रूपमा अघि बढाइ आजै पानी वितरण गरिने मन्त्रालयले जनाएको छ ।
मेलम्चीले किन दुःख दिँदैछ उपत्यकावासीलाई ?
मेलम्चीको पानीले काठमाडौँवासीलाई निकै नै दुःख दिएको छ । वर्षौँसम्म आश्वासनले र त्यसपछि जडान भए पनि कहिले बाढी पहिरोको नाममा त कहिले पाइप फुटेर दुःख दिइरहेको छ ।
मेलम्चीको पानी उपत्यकावासीलाई खुवाउने सपना कृष्णप्रसाद भट्टराईको हो । उनले पहिलो कार्यकालमै २०४७ सालमा प्रधानमन्त्री हुँदा मेलम्चीको पानीले काठमाडौँका सडक पखालिदिने बताएका थिए ।
नभन्दै उनको १४ औँ स्मृति दिवस फागुन २० गते नेपाली कांग्रेसले मनाइरहँदा त्यही दिन बिहान थापाथलीमा मेलम्चीको पाइप फुट्दा सडक जलमग्न भयो । सडक अवरुद्ध भयो ।
त्यसो त उपत्यकामा सबै ठाउँमासमेत मेलम्ची पुग्न सकेको छैन । सम्बन्धित निकायलाई नयाँ पाइप जडान गर्ने फुर्सद पनि देखिँदैन र तत्कालका लागि योजना बनेको पनि बताइएको छैन ।
तर जहाँ लाइन जोडिएका छन् त्यहाँ दुःख भने समय समयमा भइराखेको छ ।
मेलम्चीमात्र हैन सँगसँगै जोडिएका सडक र बिजुलीका अड्डाबीच तालमेल नहुँदा पनि समस्या आपसमा बाझिएको छ । अनि दुःख तिनै जनतालाई ।