arrow

आफुले नियुक्त गरेका हाकिमलाई निकालेपछि ओली आक्रोशित

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
oli-new-pic.jpg.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीइओ सुशील ज्ञवालीलाई सरकारले हटाएकामा आपत्ति जनाएका छन् । एमालेले विहिबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफुले नियुक्त गरेका ज्ञवालीलाई बर्खास्त गरेको प्रति आक्रोश पोखे ।

आक्रोशित हुँदै ओलीले भने, ‘पुनः निर्माणसम्बन्धि तालिम गर्न पनि आफ्नो पार्टीको संस्थालाई दिन माग गर्ने  । अति त्यो पूरा नभएपछि प्रमुखलाई पदमुक्त गर्ने ? योभन्दा घटिया सोंच अर्काे के हुन सक्छ ?’

सरकारले भूकम्पले भत्किएका निजी तथा सार्वजनिक संरचना निर्माणमा काम नगरेको, प्राधिकरणलाई स्वायत्त हुन तथा आवश्यक कर्मचारी र बजेट नदिएर उल्टै प्रमुखलाई पदमुक्त गरेको निर्णय उचित हुनै नसक्ने ओलीको जिकिर छ ।

विहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सीइओ ज्ञवालीलाई बर्खास्त गरेको केही घण्टामै एमाले अध्यक्ष केपी ओलीले आक्रोश पोखेका हुन् । ओलीले ज्ञवालीलाई नियम र कानूनअनुसार हटाउन नमिल्ने पनि बताए । यद्यपि, सरकारकै एक जना उपप्रधानमन्त्रीले कुनै कानुनी अड्चन नरहेकाले नयाँ नियुक्ति हुने बताएका छन् ।

सत्तापक्षका नेताहरुले विभिन्न तालिमका नाममा प्राधिकरणमा पैसा मागेको र ज्ञवालीले नदिएपछि उनलाई हटाइएको ओलीको जिकिर छ । त्यस्तै अर्थ मन्त्रालयले प्राधिकरणलाई बजेट नदिएको र काममा असहयोग गरेर अन्ततः कामै नगरेको भन्दै नियोजित रुपमा हटाइएको ओलीको आरोप छ ।

केपी ओली नेतृत्वको सरकारले २०७२ पुस १० गते शुक्रबार ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो । सिभिल इन्जिनियर रहेका ज्ञवाली प्राधिकरणमा नियुक्त हुनुअघि नगर विकास कोषका कार्यकारी निर्देशक थिए । कोषमा उनको कार्यकाल डेढ वर्ष बाँकी थियो ।

कनिष्ठलाई प्रमुख बनाइएको भन्दै धेरै कर्मचारी उनको मातहतमा काम गर्न जान तयार भएनन् । कतिपय बाटैबाट फकिए । मन्त्रिपरिषद्ले ज्ञवालीलाई काम हुन नसकेकोबारे कारण सोध्दा उल्टै सरकारका कारण काम हुन नसकेको भनि तर्क र प्रश्नसहित स्पष्टीकरण पेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ