परिमार्जन नगरी संशोधन प्रस्ताव स्वीकार गर्न सकिँदैन : संघीय गठबन्धन
प्रकाशित २०७३ पुष २० बुधबार
1k
Shares
काठमाडौँ । सङ्घीय गठबन्धनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई परिमार्जन नगरी स्वीकार गर्न नसकिने निर्णय गरेको छ ।
गठबन्धनको वुधबार बसेको बैठकले सरकारले परिमार्जनसहित संशोधन प्रस्स्ताव अघि बढाए मात्र त्यसमा जान सकिने निर्णय गरेको गठबन्धनका संयोजक एवं सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
गठबन्धनले संशोधनका सम्बन्धमा यसअघि राखेको परिमार्जनको माग यथावत् राखेको छ र उसले सरकारले परिमार्जन गर्न कुनै गृहकार्य नगरेको गुनासो समेत गरेको छ । बैठकले संशोधनका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णय उचित भएको बताउँदै अदातलले जे गर्नुपथ्र्यो त्यही गरेको निष्कर्ष निकालेको छ । गठबन्धनको बैठक पछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बैठक पनि बस्यो ।
गठबन्धनले संशोधनको प्रस्ताव अघि नबढाई घोषणा हुने निर्वाचनको कुनै अर्थ नहुने निष्कर्ष निकालेको संयोजक यादवले बताए । बैठकले काठमाडौँ उपत्यकाको बन्दप्रति गठबन्धनको ध्यानाकर्षण भएको जनाउँदै सर्वसाधारण जनतालाई उचित मुआब्जा दिएर मात्र बाटो विस्तार गर्न सरकारलाई सुझाव दिएको छ ।
बैठकमा संयोजक यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका महासचिव मनिष सुमन, सङ्घीय लिम्बूवान् पार्टी नेपालका कुमार लिङ्देन, थरुहट तराई पार्टीका भानुराम थारुलगायत सहभागि थिए ।