चीनको चलाखी अब चल्दैन भन्दै वीरगञ्जमा जलाइयो वितरण गरिएका साइकल [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
933
Shares
वीरगञ्ज । वीरगञ्जमा चिनियाँ सहयोगको नाममा पुराना र कमसल साइकल वितरण गरिएको विरोधमा राष्ट्रिय विद्यार्थी परिषद् वीरगञ्जले लक्ष्मणवा (प्रतिमा) चौकमा प्रदर्शन गर्दै साइकल जलाएका छन् ।
प्रदर्शनकारीहरूले "चीनको चलाखी अब चल्दैन – मधेसलाई सम्मान चाहिन्छ!" र "पुरानो साइकल, नयाँ धोका – चीन, अब हामीलाई मूर्ख नबनाऊ !" जस्ता नाराहरू लगाउँदै विरोध जनाए ।
विद्यार्थी परिषद्का नेताहरूले चीनले मधेसका विद्यार्थीहरूलाई अपमानित गर्न यस्ता कमसल सामग्रीहरू सहयोगको रूपमा पठाएको आरोप लगाए। एक विद्यार्थी नेताले भने, "हामीलाई झुटो दान होइन, सफा नियत चाहिन्छ । चीनले मधेसलाई फालिएको सामान दिएर बेइज्जत गर्यो।"
प्रदर्शनकारीहरूले चीनको विरोधमा नाराबाजी गर्दै "नो फेक डोनेसन्स प्लिज" र "मधेस डिजर्भस् डिग्निटी, नट चाइनाज् डिस्कार्डेड स्क्रयाप्स" जस्ता सन्देशहरू दिएका थिए।
विद्यार्थीहरूले चिनियाँ हस्तक्षेप अस्वीकार्य रहेको भन्दै मधेसलाई दानको नाममा फालिएको सामान होइन, सम्मान चाहिएको स्पष्ट पारे। आक्रोशित प्रदर्शनकारीहरूले वितरण गरिएका कमसल साइकलहरूमध्ये केहीलाई प्रदर्शनस्थलमै जलाएका थिए ।
प्रदर्शनमा स्थानीय बासिन्दासमेत सहभागी भएका थिए । उनीहरूले चिनियाँ सरकारको ‘सहयोग’ को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेस विरोधी भएको आरोप लगाए।
प्रदर्शनकारीहरूले मधेसलाई अनुदानको नाममा गुणस्तरहीन सामग्री उपलब्ध गराउने कार्य अस्वीकार्य रहेको बताउँदै यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरिए भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यो पहिलो पटक होइन जब मधेसमा साइकल वितरण सम्बन्धी विवाद उठेको हो । २०७८ मा प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत वितरण गरिएका साइकलमा व्यापक अनियमितता देखिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमै छापा मारेको थियो।
अहिलेको घटनामा भने चीनले मधेसलाई सहयोगको नाममा फालिएका र कमसल साइकलहरू पठाएर मधेसको अपमान गरेको आरोप विद्यार्थी नेताहरूले लगाएका छन्।
चीनले नेपालमा प्रभाव जमाउन विभिन्न अनुदान र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ तर गुणस्तरहीन सहयोग र राजनीतिक प्रभाव विस्तारको प्रयासप्रति स्थानीय समुदाय सचेत हुँदै गएका छन् ।
विश्लेषकहरू भन्छन्, "चीनले रणनीतिक रूपमा नेपालमा प्रभाव बढाउन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर यदि यी कार्यक्रमहरू सम्मानजनक र वास्तविक विकासका लागि नभए, यसले उल्टै चीनविरोधी भावना बढाउनेछ ।"
स्थानीय विद्यार्थी समूहहरूले चिनियाँ सहयोगलाई "फेक डोनेसन" भन्दै यसको कडा विरोध गरेका छन्। उनीहरूले मधेसलाई वास्तविक विकास चाहिएको बताउँदै सरकारलाई पनि "विदेशी हस्तक्षेपको चासोभन्दा नागरिकको सम्मान र आवश्यकतामा ध्यान दिन" आग्रह गरेका छन्।