हाम्रो पात्रोको मेगा रिलिज: अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
649
Shares
काठमाडौँ। नेपालको सर्वाधिक लोकप्रिय एप “हाम्रो पात्रो”ले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ यूआई र सुविधाहरू सहितको मेगा रिलिज लिएर आएको छ। यस नयाँ संस्करणले प्रयोगकर्ताहरूलाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। त्यसबाहेक यस संस्करणले प्रयोगकर्ताहरूलाई आफ्नो दैनिक जीवनलाई व्यवस्थित गर्न, चाडपर्व ट्र्याक गर्न र अन्तरक्रियात्मक सामग्रीहरूमा संलग्न हुन सजिलो बनाउँछ।
हाम्रो पात्रोका डायरेक्टर सुदिना गौतम भन्छिन्, “समय अनुसार प्रयोगकर्ताहरूलाई नयाँ अपडेट प्रदान गर्ने कुरा हामीले सधैँ ध्यानमा राखी रहेका हुन्छौँ। यो हाम्रो पात्रोको अहिलेसम्मको सबैभन्दा ठूलो रिलिज हो भनेर भन्न सकिन्छ। हाम्रो पात्रोको यो नयाँ स्वरूप र हामीले थपेका नयाँ सुविधाहरू प्रयोगकर्ताहरू माझ पस्कन पाउँदा एकदमै उत्साहित छौँ । प्रयोगकर्ताहरूले यस संस्करणलाई पनि उत्ति नै माया दिनुहुनेछ भनेर विश्वस्त छौँ।”
यस अपडेटपछि प्रयोगकर्ताहरूले हाम्रो पात्रोको क्यालेन्डरमा आफ्नो गुगल क्यालेन्डर सिङ्क गर्न सक्नुहुनेछ, जसले सबै महत्त्वपूर्ण मिति र इभेन्टहरूलाई एकै स्थानमा व्यवस्थापन गर्न सजिलो बनाउँछ। साथै, कस्टमाइज हाम्रो सर्विसेज फिचर प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले प्रयोग गर्ने सेवाहरूलाई मात्र प्राथमिकता दिँदै आफ्नो आवश्यकता अनुसार एपलाई व्यक्तिगत बनाउन सक्नुहुनेछ। त्यसबाहेक, प्रयोगकर्ताहरूले आफ्नो सहजता अनुसार एपको फन्ट साइज पनि बदल्न सक्नुहुनेछ।
त्यसै गरी, धेरै देशका समय क्षेत्रहरू (मल्टीप्ल कन्ट्री टाइम ज़ोन्स) हेर्न र व्यवस्थापन गर्न सकिने सुविधाले विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई लाभान्वित गर्नेछ। लामो समय देखि प्रयोगकर्ताहरूले माग गरिरहेको आइओएसमा नोट्स राख्न र कमेन्ट गर्न सकिने सुविधा पनि यस पटकको अपडेटमा थपिएको छ ।
नयाँ थपिएको सदस्यता सुविधाले प्रयोगकर्ताहरूलाई एड फ्री सब्स्क्रिपसन, गुगल क्यालेन्डर सिङ्क, हाम्रो सेवाहरूमा विशेष छुट लगायतका विभिन्न लाभहरू सुपथ मूल्यमा खरिद गर्न सक्ने विकल्प पनि प्रदान गरेको छ।
नयाँ इभेन्टहरू खोज्ने , प्रश्नोत्तर र मतदानमा सहभागी हुने र एनिमेटेड दैनिक डूडलहरू जस्ता सुविधाहरूले प्रयोगकर्ताहरूको अनुभवलाई थप रमाइलो बनाउनेछन्।
त्यसबाहेक, अब हाम्रो पात्रो एपबाटै इभेन्टहरूको टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। हाम्रो पात्रोको आफ्नै वालेट “हाम्रो पे” का साथै मोबाइल बैङ्किङ र कनेक्ट आईपीएसको प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिनेछ। यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ।
स्वदेश या विदेशमा बस्नुहुने नेपालीहरूको दैनिक जीवनको हिस्सा बन्न सफल “हाम्रो पात्रो”को यो नयाँ अपडेटले नेपाली समुदायको डिजिटल साथीको रूपमा आफ्नो स्थानलाई अझ सुदृढ बनाउनेछ।