कसरी बढ्यो नेपालमा आत्महत्या ? छ महिनामै तीन हजार एक सयले गरे
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
573
Shares
काठमाडौँ । नेपालमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ । गृह मन्त्रालयका अनुसार चालु आवको छ महिनामा तीन हजार एक सय ३४ जनाले आत्महत्या गरेका छन् ।
गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले अकालमा ज्यान फालेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ ।
यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा चार सय ७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ ।
यसको निराकरणका लागि भने सरकारले कुनै कदम चालेको पाइँदैन । मानिस मानसिक समस्याले गुज्रेको यसले देखाउँछ । साथै आकांक्षा बढी हुँदा र बलात्कारका घटनासमेत बढी भएकाले पनि आत्महत्या बढेको अनुमान छ ।
बढ्यो सडक दुर्घटना
चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको मृत्यु भएको छ । लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।
गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सडक दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सडक दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।
गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
मन्त्रालयका अनुसार गत साउनमा एक हजार छ सय २८ सडक दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो ।
गत असोजमा एक हजार आठ सय ७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको निधन भएको विवरण छ ।
अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ ।
साइबर अपराध
मन्त्रालयका अनुसार चालु आवको छ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार एक सय ८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् ।
यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका सात सय ३१ र टिकटकसँग जोडिएका एक सय ५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०र८१ मा कुल १९ हजार सात सय ३०, आव २०७९र८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।