arrow

धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
tripurasundari-dolpa-81-11-.jpg

डोल्पा । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला हो डोल्पा । छ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा यो फैलिएको छ । 

तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा पर्दछ । ११ औँ शताब्दीमा निर्माण भएका गुम्बा यहाँको गौरव हो । 

त्यस्तै झन्डै पाँच वर्ग किलोमिटर क्षेत्र ओगटेको से फोक्सुन्डो ताल, यहाँका डाँडाकाँडा, वनजङ्गल, बस्ती, अप्परडोल्पाको ढो उपत्यका र मष्ट देवतालगायत यस्ता अनगन्ती परिचय छन् । 

 विभिन्न जातजाति, धार्मिक र सांस्कृतिक मान्यता, प्रचलन, व्यवहार, स्थानविशेषका कृषि उत्पादन, जडीबुटी, प्राकृतिक छटा, टलक्क टल्किरहने हिमाल, हरियो जङ्गल र अटुट रूपमा कलकल बगिरहने खोलानाला यहाँका अनुपम गहना हुन् । 

धार्मिक मान्यता, सांस्कृतिक धरोहर र परम्पराले गर्दा डोल्पाले नेपालको गौरव मात्रै बढाएको छैन, अनगन्ती प्राकृतिक दृश्य र मौलिक परम्पराले गर्दा पर्यटक वृद्धि भई आर्थिक समृद्धि हासिल गर्न सघाउ पुग्नेमा दुई मत छैन । 

 हाम्रो धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा वर्णन भए अनुसार त्यहाँ त्रिपुरा नामको राक्षसलाई मारिएको हुँदा त्यस ठाउँको नाम त्रिपुराकोट रहन गएको भन्ने किंवदन्ती छ । 

अर्को सोही ग्रन्थमा उल्लेख भए अनुसार सतीदेवीको अङ्ग ढाड पतन भएको हुँदा भगवान् मुकुटेश्वर महादेव पीठको उत्पत्ति भएको भनिएको छ ।

त्रिपुराकोट गढीमा सातौँ शताब्दीका राजा विक्रम शाहीको दरबार थियो । शाहीले यसै कोटगढीका विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए । त्यतिखेर मन्त्रीलाई काजी भन्ने चलन थियो । 

अहिले मन्दिर भएको ठाउँमा त्यो बेला राजाको दरबार थियो । त्यहीँ क्षेत्रभित्र धान कुट्ने ढुङ्गाको ओखल पनि थियो । धान कुट्दै जाँदा त्यो ओखलमा अनेक चमत्कार भयो । 

कहिले चार माना धान कुट्दा आठ माना चामल हुने, कहिले आठ माना धान कुट्दा दुई माना चामल बस्ने । धान कुटेर फ्याँकेको ढुटोबाट कसरी चामल भयो ?  

ओखलको अनौठो पक्षबारे कजिनीहरूले आफ्ना काजीहरूलाई बताए । त्यो सूचना काजी विष्टहरूले राजा विक्रम शाहीसमक्ष जाहेर गरे । जब राजाले यस्तो अचम्मको सूचना पाए, तत्काल प्रजाहरू भेला गरेर ओखल उत्खनन गर्न लगाए भन्ने किंवदन्ती छ । 

त्यो ओखलको ढुङ्गोलाई उल्टाउन निकै हम्मे भयो । किंवदन्ती अनुसार ओखल तलपट्टि तामाको ओदान, ओदानमाथि घिउको कराही, कराहीमाथि तामाको थाली, त्यो थालीमाथि षट्कोणयन्त्र, त्यसमाथि कुँडे र त्यो कुँडेभित्र नवदुर्गा भवानीका नौ वाहनका स्वरूप पुतली देखिए । 

ओखल उत्खननका अगुवा काजी बेहोस भए र देवी शक्तिबाट बोल्न थाले ।

“हामी नौ बहिनी भगवती हौँ । पुतलीरूपी देवीहरू उडेर विभिन्न ठाउँ गइबसेका छन् । बाँकेकी बागेश्वरी, जुम्लाकी कनिका सुन्दरी, सल्यानकी खैरबाङ देवी, बैतडीकी गणसैनी त्रिपुरेश्वरी र बाजुराकी बडीमालिका । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरा सुन्दरीमा विराजमान छौँ । यहाँ विराजमान चार देवी महाकाली, महालक्ष्मी र महासरस्वतीका नामले प्रसिद्ध सबैको चोखोनितो गरी पूजाआजा गर्नू । न्यौपाने थरका पूजारीलाई नृत्य पूजापाठको जिम्मा सुम्पिनू र यस स्थानलाई विशेष किसिमले सुरक्षा गर्नू ।” 

सन् १११४ मा त्रिपुरासुन्दरी मन्दिरको स्थापना भएको हो । प्राचीन संरचनाको चारैतिर ठड्याएका विशाल चार ध्वजावाहक काठका लिङ्ग बडो आकर्षक पाराका छन् । मन्दिरको उत्तर भागमा मुकुटेश्वर हिमाल र दक्षिणमा भैरवी गङ्गालगायत प्रसिद्ध तीर्थस्थल रहेका छन् । 

धार्मिक विशेषता नै विशेषता भएको त्रिपुरा सुन्दरीमा पूर्वराजारानीदेखि राष्ट्र प्रमुखहरू पुग्नु परापूर्वकालदेखि नै माता भगवतीले इच्छा पूरा गर्ने जनविश्वास छ । यहाँ विजयादशमी, चैते दसैँ, श्रीपञ्चमी तथा महाशिवरात्रिमा हरेक वर्ष ठूलो मेला लाग्दछ । त्यसबाहेकका दिनमा पनि दर्शनार्थीको घुइँचो हुन्छ । 

tripurasundari-dolpa-81-11-3 (1).jpg
tripurasundari-dolpa-81-11-3 (2).jpg
tripurasundari-dolpa-81-11-3 (3).jpg
tripurasundari-dolpa-81-11-3 (4).jpg
tripurasundari-dolpa-81-11-3 (5).jpg
tripurasundari-dolpa-81-11-3 (6).jpg
tripurasundari-dolpa-81-11-3 (7).jpg
tripurasundari-dolpa-81-11-3 (8).jpg
tripurasundari-dolpa-81-11-3 (9).jpg
tripurasundari-dolpa-81-11-3 (10).jpg
tripurasundari-dolpa-81-11-3 (11).jpg
tripurasundari-dolpa-81-11-3 (12).jpg
tripurasundari-dolpa-81-11-3 (13).jpg
tripurasundari-dolpa-81-11-3 (14).jpg
tripurasundari-dolpa-81-11-3 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ