तीन विद्यार्थीको ज्यान लिएको स्कूले बसमा सवार २७ डिस्चार्ज, १६ अस्पतालमै
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
439
Shares
काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार साँझ भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् ।
उनीहरु उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।
सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो । उनीहरु तीनै जना विद्यार्थी हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
अहिले दुईको केएमसी अस्पतालमा, नौको एनएमसी अस्पतालमा, एकको मेडिसिटी अस्पतालमा, दुईको शिक्षण अस्पताल महाराजगञ्जमा, एकको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोहराले जानकारी दिए ।
बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि उनले बताए ।
पछिल्लो समय लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने धेरै बढेको खुलेको छ । जसका कारण दुर्घटना ह्वात्तै बढेको छ । मादक पदार्थ सेवन (मापसे) को चेकिङ हुने गरे पनि लापसेको चेकिङ नहुने भएकाले चालकहरु करिब एक दशकदेखि नै लापसेतिर आकर्षित भएको बुझिन्छ ।
चालकहरुले नै लापसेको प्रयोग व्यापक हुने गरेको बताउँछन् ।