यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढ्नु हुँदैन : कमल थापा
प्रकाशित २०७३ पुष १८ सोमबार
1.5k
Shares
भीमदत्तनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा अध्यक्ष थापाले राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न प्रमुख राजनीतिक दलहरुलाई आग्रहसमेत गरे ।
“राजनीतिक सहमति नभए मुठभेड निम्त्याउँछ, थापाले भने, “यथास्थितिमा हाम्रो पार्टीले पनि सहयोग गर्दैन ।” मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नुपर्ने धारणा राख्दै अध्यक्ष थापाले संविधान कार्यान्वयनमा राप्रपाको सकारात्मक र रचनात्मक भूमिका निभाउने बताए । संसद् अवरोध अन्त्य हुनुपर्ने बताउँदै थापाले तीनवटै तहको निर्वाचनमा सरकार र दलहरु लाग्नुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन नभए संविधानले पूर्णता नपाउने भन्दै सरकारको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए । अर्का वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले लामो समय संसद् अवरुद्ध हुनु उपयुक्त नभएको बताउँदै ८१ प्रतिशत हिन्दू रहेको मुलुकमा ठूला दलहरुले धर्म निरपेक्ष घोषणा गरेर गम्भीर त्रुटी गरेको टिप्पणी गरे । रासस