तिलोत्तमा बहुृउद्देश्यीय भ्युटावरः हतारमा उद्घाटन, फुर्सदमा निर्माण
नारायण वली,
प्रकाशित २०८१ माघ १८ शुक्रबार
852
Shares
लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१ शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) पुग्ने हो भने चिटिक्क परेको अग्लो भ्युटावर देख्न सकिन्छ । त्यहाँ पुग्दा जो कोहीलाई पनि लाग्छ कि एकपटक माथि चढेर वरिपरिको दृश्य हेरौँ ।
तर त्यहाँ चढेर दृश्यावलोकन गर्न भने पाइँदैन । बाहिर चिटिक्क सिंगारिएको तिलोत्तमा बहुउद्देश्यीय भ्युटावरको भित्री निर्माणकार्य अझैसम्म नसकिएकाले वनवाटिकामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरुले भ्यूटावरको प्रयोग गर्न नपाउँदा प्रयोगविहिन बन्न पुगेको छ ।
तिलोत्तमा नगरको तत्कालीन मेयरको म्याद सकिन लागेका बेला काम बाँकी छँदै उद्घाटन गराएका थिए । २०७९ को निर्वाचन मिति नजिकिँदै गरेको बेला २०७८ चैत १५ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारहतारमा उद्घाटन गरेका थिए ।
मेयर हुँदा अन्यत्रको भ्युटावर जस्तो नभई नगरपालिकालाई मासिक ३ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने दाबी गर्ने पूर्वमेयर हालका संघीय सांसद वासुदेव घिमिरेले विलम्व निर्माण, हतारको उद्घाटन र हालसम्म सञ्चालनमा नआउनुबारे अहिले कुनै चासो नदेखाएको बताइएको छ ।
निर्माण कार्य नसकिँदै तामझामका साथ उद्घाटन भएर पनि १० तलाको भ्युटावरमा चढ्न नपाउँदा वनवाटिकामा आउने पर्यटकहरुले गुनासो गर्न थालेका छन् ।
११ करोड, १३ लाख ५८ हजार रुपैयाँमा निर्माण गरिएको बहुउद्देश्यीय टावरमा लगाइएको बाहिरी रंगरोगनसमेत उत्रिन थालिसकेको छ । सञ्चालन नहुँदै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको भ्युटावरको निर्माण कहिले सकिने र आम्दानी कहिलेबाट लिन शुरु गर्ला भन्ने कुराको कुनै अनुमान गर्न सकिँदैन ।
अघिल्लो स्थानीय तहका जनप्रतिनिधिले निर्माणाधीन अवस्थामा गरेको उद्घाटन र लगाएको टेण्डर गलत थियो । निर्माणमा करोडौँ लगानी भएको छ । अन्य ठाउँमा भएको भ्युटावर जस्तो नभई बहुउद्देश्यीय भ्युटावर भएकाले यसको सदुपयोग नहुँदा जनगुनासो बढेको छ । यसको सञ्चालनमा किन ढिला भएको छ ? कारण के हो ? पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउन गरिएको लाखौं रुपैयाँको सदुपयोग हुनुपर्ने शंकरनगर वनवाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेले बताए ।
उनले भने, 'भ्युटावर निर्माणमा ३० प्रतिशत लगानी गरेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) लाई सञ्चलान सम्बन्धी ठेक्का सम्झौतामा तत्कालीन जनप्रतिनिधि र कर्मचारीले कुनै जानकारी नदिएर ठेकेदारलाई राखेर सुटुक्क सम्झौता गर्नु र नगरपालिका कर्मचारीले जनप्रतिनिधिलाई समेत जानकारी नगराएर उक्त ठेक्का सम्झौतामा प्रथम र दोस्रो पक्षको हस्ताक्षर नगराई सम्झौता पत्रलाई गोप्य रुपमा राख्नु कर्मचारीको बदनियत देखिन्छ ।
७० प्रतिशत नगरपालिका र वनवाटिकाले ३० प्रतिशत लगानी गरेको लगानी अनुसार ६० प्रतिशत नगरपालिकाले र ४० प्रतिशत वनवाटिकाले आम्दानी बाँड्ने सहमति भएको उपाध्यक्ष पाण्डेको भनाइ छ ।
वनवाटिकाभित्र दैनिक सरदर एक हजार भन्दामाथि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । जहाँ वनभोज, अवलोकन गर्ने, चिडियाखाना हेर्न आउनेहरुको संख्या उल्लेख्य रहेको हुन्छ ।
'वनवाटिकामा भ्युटावर बन्न लाग्दा स्थानीयहरु उत्साहित भएका थियौँ, उद्घाटन पनि गरियो तर बिडम्वना सञ्चालनमा नआउँदा जनताहरु निराश भएका छन् । ठूलो लगानी खेर गईरहेकोमा दुःखी छौं । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा टेवा पुर्याउने अपेक्षा राखेपनि उक्त टावरलाई बेकामको बनाईयो, यसमा करोडौं लगानी भएको छ । यसलाई कसले रोकेको छ ? यसबारेमा स्थानीयहरुलाई जानकारी गराउनुपर्छ', तिलोत्तमा नगरपालिका वडा न-१ का स्थानीयबासी देविदत्त गिरीले भने ।
भ्युटावर बनेको लामो समय हुँदासमेत सञ्चालनमा नआउँदा वनवाटिका, स्थानीय तह र राज्यलाईसमेत घाटा लाग्दै आएको स्थानीयबासी भीमबहादुर पाण्डेले बताउँदै के कारणले, कसले गर्दा रोकिएको हो ? यसको स्पष्टता हुनुपर्ने भन्दै पर्यटन क्षेत्रभित्र पर्ने भ्युटावर संरचनालाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाँणले यसवर्ष नगरपालिकाले निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन बताउँदै बाँकी निर्माणकार्यलाई अन्तिम रुप दिएर आगामी बैशाखभित्र सञ्चालनमा ल्याउनेगरी काम गर्न पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाउने तयारी भइरहेको बताए ।
टावरमा छैटौँ तलासम्म व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएको भने सातौँ तलादेखिमाथि दृश्यावलोकनका लागि तला बनाइएको छ ।
कुल २५ हजार १२२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको भ्यूटावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा तथा पुस्तकालय लगायतका संरचना रहने योजनामा राखिएको छ ।