कृषिका लागि वन अपिरिहार्य छ । कृषिका लागि आवश्यक पर्ने प्राङ्गारिक मल वनका पात पतिङ्गरबाटै प्राप्त हुन्छ । वस्तु पाल्न पनि वन नै चाहिन्छ । सामुदायिक वा सरकारी वन जुनसुकै होस् , उसको शत्रु आफूसँगै लुकेर बसेको छ, त्यो हो सुकेका पात, दाउरा, खर आदि ।
हुन त यिनै सुकेका पात, खर, दाउरा, मुढाले नै त्यहाँको प्राकृतिक जीवहरूलाई आश्रय दिन र त्यहाँ भएका जीवहरूको खाना, पानी र जल संरक्षणको प्रमुख कारक तत्व हुन् । तापनि मानिसहरूको अज्ञानताले भनौँ वा लापरबाहीले वा मूर्ख्याइँले भनौँ वा एकछिनको राक्षसी विचारले भनौँ हिउँद वा सुख्खा मौसममा वनमा आगो लगाइदिने गर्दछन् । यसरी आगो लगाउने भनेको हरतरहबाट वातावरण राष्ट्रको धन, वन्यजन्तु, चराचुरुङ्गी, जडीबुटी, सूक्ष्म जीव-ब्याक्टेरिया , गड्यौला आदिको नाश हुनु नै हो ।
मानव बस्तीलाई चाहिने पानी र बिरुवाको आधार नै वनजङ्गल हो । यसलाई विनाश गर्न छिनभर लाग्दैन तर निर्माण गर्न तथा सुधार गर्नका लागि वर्षौं लाग्दछ । धर्म गर्न, देवताको मन्दिर जान र कसैलाई दान गर्न पर्दैन, आफ्नो कारण कुनै जीव तथा प्राणीहरूलाई दु:ख हुने काम नगरेमा वा दु:खबाट हटाउन सके नै महान् धर्म हुन्छ । त्यसैले वनलाई संरक्षण गरौँ आर्थिक र वातावरणीय विकास गरी मानवता देखाउँ दानवता हैन ।
“एउटा गोलीले दुईटा सिकार” गर्ने भन्ने नेपाली उखान चरितार्थ पार्नका लागि कृषि र वनलाई जोड्न सकिन्छ । त्यो हो एउटै कामले कृषि पनि राम्रो हुने, वन पनि राम्रो हुने । सरकार तथा समुदायले यसलाई प्राथमिकता दिएर काम गर्न परेको छ ।
हेर्दा केही छैन तर आफू बसेको ठाउँको वातावरण स्वच्छ वनाउन र आफूमा आश्रित जीवजन्तु वनस्पति (अन्न फलफूल तरकारी ) लाई समेत उद्दार गर्नु नै महान धर्म हो र मानव सभ्यता हो । मानिस र अरू जनावरसँग तुलना गर्नु भनेकै सभ्यतासँग तुलना गर्नु हो ।
कृषि र वन कसरी जोड्ने त ?
कृषिजन्य बाली तथा वस्तुलाई आवश्यक पर्ने मल र जलको श्रोत नै वनजङ्गल हो । वनजङ्गलको संरक्षक नै मानिस समुदाय हो । कृषिका लागि आवश्यक पर्ने मलका लागि कृषि व्यवसायीले हिउँदमा वनमा भएका सुकेका पात पतिङ्गर आफ्नो घर खेतमा ल्याएर होस् वा वनमै पातलाई खाडल बनाइ वा थुप्रो बनाइ जम्मा गरेर गलाउने वस्तु ई एम जस्ता जैविक वस्तुहरू हालेर गलाएर गुणस्तर कम्पोष्ट मल बनाउनुहोस् ।
मल बनाउन खनिएका खाडलमा वर्षाको पानी जम्मा भइ जमीनमा सोसिंदा वरपरका बिरुवालाई लामो समयसम्म चिस्यान रहने हुँदा त्यस ठाउँको बोटबिरुवा पनि राम्रो हुने, पानी जमीनको तलसम्म जाने हुँदा तहाँभन्दा तलका पानीका श्रोतहरूलाई पनि राम्रो हुने गर्दछ ।
यसका साथै वनमा तेर्सो कुलो-कुलेसा नाला बनाउँदा वर्षामा परेको ठूलो पानी रोकिन गई जमीन धेरै भिज्ने बाढी कम आउने मूलहरूमा पानीको श्रोत बढ्ने हुन्छ ।
वन-उपभोक्ता समितिले डालेघाँस तथा भुइँघाँस लगाउन जोड दिनुपर्दछ, जसले गर्दा घाँस बनाउदा ती रुखको प्रयोगले पशुपालनमा प्रत्यक्ष रूपमा सहयोग पुग्दछ ।
बेलाबेलामा सुकेका दाउरा, घाँसपात, पतिङ्गरका लागि खुलाउने झाडी हटाउने, काटछाँट तथा गोडमेल गरी वनका ठूला रुखको गुणस्तर बढाउने गर्नु पर्छ । वन नै आफ्नो प्राकृतिक सम्पत्तिको रूपमा लिनुपर्छ ।
पत्कर जम्मा गर्दा वनलाई ब्लकमा विभाजन गर्न राम्रो हुन्छ । ब्लकको सीमानामा फायर लाइनको रूपमा १० देखि २० मिटर भुइँ सफा गरी जैविक पदार्थ संकलन गर्नुपर्दछ । यसलाई मुख्य रूपमा कम्पोष्ट-मल छापो आदिको रूपमा कृषकले प्रयोग गर्न सक्छन् । ब्लक विभाजन नगरी अस्थायी फायरलाइनको रूपमा सुबिधा र जमीनको बनावट अनुसार बनाउन पनि सकिन्छ ।
वनबाट हिँडडुल गर्ने बाटोलाई नै फायरलाइनको रूपमा प्रयोग गरी दायाँबायाँ सफा गर्न पनि सकिन्छ । सकभर सीमाना सफा गर्न अरू राम्रो हुनेछ ।
नेपालमा वनजङ्गल बढी भएकै कारण कार्बन उत्पादन गर्ने औद्योगिक देशहरू जम्मा भएको रकमबाट नेपालमा वृक्षरोपणका विभिन्न काम भएको अवस्था छ भने अर्कातिर डढेलो लगाई असङ्ख्य बोटबिरुवाका साना बोट पोथ्रा नष्ट गरेका छौँ । त्यस्तै अर्कातिर डढेलोकै कारण विश्वको दोस्रो प्रदूषित देश बन्न पुगेको छ ।
स्वर्गजस्तो देश जहाँ हिमाल पहाड तराईको सबै खाले वातावरण पाइने र सबै खाले जन्तु-जनावर पाइने नदीनालाको धनी देशलाई प्रदूषित देशको रूपमा गणनामा पुर्याउने हामी कति बेवकुफ हौँ ? प्रकृतिले दिएको स्वर्गीय वातावरणलाई नर्क बनाएका छौँ । प्रदूषणकै कारण बाहिर निस्कन नहुने बनाएका छौँ । हामीले वातावरण दिवसमा २/४ सय बोटबिरुवा रोपेर मनाउछौँ तर वनमा हप्तौँसम्म पनि डढेलो लागेर वनमा आश्रित सबै जीव जनावर नष्ट हुँदा तमासे भएर हेरेर बसेका छौँ ।
के यो प्राथमिकतामा नपरेको हो ? त्यसो हो भने प्राथमिकता के हो त ? के स्थानीय सरकारलाई डढेलो निभाउने अधिकार संविधानमा लेखिएन ? कि वा नियम पालना गर्न सक्षम छैन ? वनमा आगो लगाउनेलाई समाउन किन नसकेको ? के त्यो आगो भूतले लगाएको हो, समाउनै नसकिने ?
अन्त्यमा, नेपाल कृषि प्रधान देश होइन, कृषि आयातमुखी देश बन्न पुगेको यथार्थ विदितै छ । कृषिको विकासका लागि वनको अति नै महत्व छ । वन संरक्षणका लागि पनि प्रांगारिक कृषिको उत्तिकै महत्व छ । त्यसैले वनबाट प्राप्त हुने पात पतिंगर, घाँसपात, दाउरा आदिको व्यवस्थित तरिकाले प्रयोग र सदुपयोग गरी वनलाई डढेलोबाट हुने नोक्सान घटाउन, प्रांगारिक उत्पादन बढाउन ध्यान दिनु पर्ने आवश्यकता भएको छ । (लेखक पूर्व वरिष्ठ कृषि अधिकृत हुन्)