काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशनलाई बिजनेस दिन सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार सिंहदरबारमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरूसँग अनौपचारिक छलफल गर्दै उनले संसद्को आउँदो अधिवेशनलाई रचनात्मक र सिर्जनात्मक बनाउन प्रमुख सचेतकहरूबाट पहलकदमी गर्न आग्रह गरेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले बताए।
उनले संसद्को प्रभावकारिता बढाउँदै विचाराधीन विधेयकहरूलाई अगाडि बढाउनुपर्ने विषयमा छलफल भएको बताए। प्रमुख सचेतक बर्तौलाका अनुसार संसदीय समितिमा विचाराधीन रहेका विधेयक पेस गर्ने र अन्य व्यवस्थापकीय पाटो विषयमा समेत छलफल भएको छ ।
छलफलपछि सञ्चारकर्मीसँग बर्तौलाले भने, ‘आजको बैठकको मुख्य विषय हाउसको प्रभावकारिता बढाउने नै हो । विचाराधीन रहेका विधेयकहरू अगाडि बढाउने प्रसङ्ग पनि उहाँले जोड्भयो । यसमा प्रमुख दुई दलको अझै बढी पहलकदमी प्रमुख सचेतकहरूबाट रहोस् भन्ने उनको अपेक्षा छ । उनले नियमित रूपमा यो अपेक्षा गरिरहनुभएको छ । संसद्को पाँचौँ अधिवेशनको पहिलो बैठक यही माघ १८ गते हुँदै छ । यो अधिवेशन पहिलो दिनदेखि नै एकदमै रचनात्मक र सिर्जनात्मक होस् । त्यस हिसाबले बैठक अगाडि जाओस् भन्ने उनको अपेक्षा छ । विधेयक ल्याउने सरकारको काममा एक प्रकारको सङ्केत होस् भन्ने उनको अपेक्षा छ । अन्य व्यवस्थापनका विषयमा समेत उनले केही कुराहरू राख्नुभएको छ । बैठकको पहिलो दिन शीर्षस्थ नेताहरूले सम्बोधन गरेर हाउसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने, हाउसले बिजनेस पाउने कुरामा कुनै कमी नहुने लगायत विषयमा हामीले एक प्रकारको वाचा दिएका छौँ ।’
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले छलफलमा सभामुख घिमिरेले अल्झिएर रहेका विधेयकको बारेमा सत्तारुढ दलको धारणा लिएको बताए।