प्रभावकारी सेवा प्रवाह गर्न प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गरिरहेको छ : मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
458
Shares
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक निकायमा चुस्त, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न प्रदेश सरकार जनशक्ति व्यवस्थापनमा सक्रिय भएर अघि बढेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमितिले सन्धिखर्क नगरपालिका-६ नरपानीमा सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति पार्कसहित निर्माण गरेको शालिकको आज अनावरण गर्दै उनले परिवर्तन र समानताका लागि सहिदद्वारा गरिएका बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लागेको धारणा राखे ।
मुलुकको विकास र समृद्धिका लागि सहिदले देखेका सपना पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्रीले भने, “सहिद पार्क निर्माण गरेर उहाँहरूको योगदानलाई स्मरणीय र पुस्तान्तरण गर्न सहयोग पुगेको छ ।”
मुलुक परिवर्तनमा पुर्याएको योगदानको समाज र राष्ट्रले सधैँ सम्झिरहने भन्दै उनले सहिदहरूप्रति सम्मान र देशभक्तिको भावना जागृत गराउन सरकारले युवा वर्ग केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
पार्कसहित शालिक निर्माणले सहिदका योगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिने मुख्यमन्त्री आचार्यले विचार राखे ।
सार्वजनिक निकायलाई नागरिक केन्द्रित बनाउन जनशक्ति आवश्यक पर्ने भन्दै उनले प्रदेश सरकार आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्तिविकासमा योगदान पुगेको मुख्यमन्त्री आचार्यले बताए।
प्रदेशमा चार हजार ७८ कर्मचारीको दरबन्दी रहेकोमध्ये एक हजार नौ सय कर्मचारी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगले काम अघि बढाएकाले यथाशीघ्र जनशक्तिको अभावको समस्या अन्त्य हुने धारणा राखे ।
“पदपूर्ति र बढुवाको काम अघि बढेको छ, जनशक्तिको समस्या समाधान गर्न सरकार सफल हुँदैछ”, उनले भने, “उपसचिवभन्दा तलका सबै पदमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई गति बढाउँछौँ ।”
मुख्यमन्त्रीले चालु आर्थिक वर्षमा प्रदेशबाट विनियोजन भएका बजेट तथा कार्यक्रमको कार्यान्वयन र अवस्थाको अनुगमन गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे ।