महाराष्ट्रमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, शव नेपाल ल्याउन सरकारको पहल
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
617
Shares
काठमाडौँ । सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
उक्त रेल दुर्घटनामा परी नेपाली नागरिक कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।