संविधान संशोधन विधेयक कसरी पारित हुँदो रहेछ हेरौँ : टोपबहादुर
प्रकाशित २०७३ पुष १६ शनिबार
1.4k
Shares
काठमाडौं । सत्ताधारी माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संविधान संशोधन विधेयक कुनै हालतमा पारीत नहुने भन्दै संसदमा त्यसविरुद्ध मतदान गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा शनिबार नेता रायमाझीले संशोधन विधेयक अविलम्ब फिर्ता लिनुपर्ने माग समेत गरे । रायमाझीले संशोधन विद्येयक कसैको पनि हितमा नरहेको जिकिर गर्दै भने, ‘यो संशोधन प्रस्तावले कसैको हित गर्दैन्, न त यसले जनताको नै हित गर्छ, न त राष्ट्रको नै, र यो सिमांकन हेरफेरको विषय त झनै संघीयताको मर्म र भावना विपरीत छ ।’
नेता रायमाझीले यथास्थितिमा आफूले यो प्रस्तावको कुनै हालतमा समर्थन नगर्ने र आफ्नो अडान आज मात्रै नभएर भोलि पनि यो विद्येयकविरुद्धमै रहने ठोकुवा गरे । रायमाझीले ९० प्रतिशतले जारी गरेको संविधान अहिले आएर एमाले पनि यो विधेयकको विपक्षमा हुँदा कसरी दुई तिहाई पुग्छ भन्दै प्रश्न गरे ?
नेता रायमाझीले भने, ‘एमालेले मात्रै होईन, हामी सरकारमा भएकापनि यो प्रस्तावको विपक्षमा छौं ।’ कसरी पारित हुँदो रहेछ हेरौं । रायमाझीले आन्दोलनकारीहरुको माँग पूरा गर्नुपर्छ भन्ने पक्षमा आफूहरु अझै पनि गम्भीर रहेको बताउँदै भने,‘आन्दोलनकारीहरुका माँगहरु राष्ट्रिय सहमति जुटाएर सम्बोधन गर्नुपर्छ ।’ उनले अहिले सरकारले ल्याएको प्रदेशको सीमांकन हेरफेरको प्रस्तावले मधेशी मोर्चाको माग पूरा हुनै नसक्ने ठोकुवा गरे ।
मधेशी मोर्चाका नेता एवं नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफूहरु संशोधन प्रस्ताव पारित भए चुनावमा जान तयार रहेको स्पष्ट पारे । अध्यक्ष झाले भने,‘संशोधन विद्येयक पारित भयो भने हामी अविलम्ब चुनावमा जान्छौं, र सम्पूर्ण मधेशी जनताले चुनावमा सहभागिता जनाउँछन्, हामी चुनावको विरोधी कहिल्यै थियौं र ?’
उनले आफूहरु अहिलेपनि संशोधन विद्येयक परिमार्जन होस् नै भन्ने पक्षमा रहेको बताउँदै भने, ‘प्रस्ताव पारित नहुञ्जेलसम्म हामी त प्रस्ताव परिमार्जन होस् नै भन्ने चाहन्छौं नि, एमालेको सहयोगमा प्रस्ताव पारित हन्ुछ, एमालेले सहयोग गरे हामी पनि लचिलो हुन्छौं ।’