बैङ्क तथा वित्तीय संस्थाहरूप्रति भ्रम छर्ने काम भइरहेको छ - गभर्नर [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
603
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्थाहरूप्रति भ्रम छर्ने काम भइरहेको बताएका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैङ्कको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैङ्क तथा वित्तीय संस्थाहरूप्रति वास्तविक कुराहरू नभइ भ्रम छर्ने कामहरू भइरहेको बताए ।
उनले साना कर्जाहरू बिस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले कुनै पनि वित्तीय संस्थाहरू समस्यामा भए त्यसको तथ्याङ्क राष्ट्र बैङ्कसँग हुने र सोहीअनुसारको कामहरूबाट संस्थालाई सुझाव दिने काम गरिरहेको बताए । राष्ट्र बैङ्कले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने प्रतिबद्धता जनाए । कर्जा बिस्तारमा लाग्न बैङ्कहरूलाई आग्रह समेत गरे ।
उनले भने, ‘बैङ्किङ आफैँमा कति चुनौतीपूर्ण छ यहाँहरू सबैलाई थाहा छ । कतिले अहिले बैङ्कहरू कुनै वित्तीय संस्थाहरू समस्यामा छन् की भनेर हल्ला फैल्याउने, अफवाह फैल्याउने, चाहिँदो, नचाहिँदो कुराहरू सोसल मिडियामा राख्ने । छोटो कुराहरू राख्यो, मिडियामा । वास्तविक कुराहरू आउँदैन । अनि मान्छेहरूलाई भ्रम छर्दिने काम खुब भइरहेको हामी देख्छौँ । कुनै संस्थामा समस्या भयो भने त्यसको डेटाहरू राष्ट्र बैङ्कमा हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्न कुनै पनि वित्तीय संस्थालाई । हाम्रो कुनै पनि डिपोजिटरलाई राष्ट्र बैङ्कले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई हामी कुनै हालतमा पनि समस्यामा पर्न दिँदैनौँ । डिपोजिट समस्यामा पर्न दिँदैनौँ, त्यो हाम्रो एक खालको प्रत्याभूति नै हो ।’
गभर्नर अधिकारीले बैङ्क तथा वित्तीय संस्थामा आउने उतार चढावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । नेपाल राष्ट्र बैङ्क कुनै पनि निक्षेप कर्तालाई घाटामा पर्न नदिने बताए ।