काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरू समग्रमा राम्रो रहेको बताएका छन् । सोमबार काठमाडौँमा कृषि विकास बैङ्कको ५८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठूलो असर परे पनि राष्ट्र बैङ्क बाह्य क्षेत्रमा सबल रहेको बताए । उनले बैङ्किङ प्रणालीमा तरलता राम्रो रहेको र बैङ्कहरू वेल क्यापिटलाइज रहेको दाबी गरे । उनले बैङ्कको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको बताए ।
गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्र समग्र रूपमा अर्थतन्त्रका फण्डामेण्ट्ल्सहरु अत्यन्तै राम्रा छन् । हामी बाह्य क्षेत्रमा सबल छौँ । पछिल्लो समय बाढी, पहिरोको निकै ठूलो असर परेको हामीले देख्यौँ । जसको फलस्वरूप खाद्य, पेय पदार्थतिरको इन्प्लेसन अलिक बेसी बढेको छ । तर पनि औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैङ्कले राखेको जुन लक्ष्य छ, त्यो भित्रै इन्प्लेसन बसेको अवस्था छ । बैङ्किङ सिस्टममा तरलता एकदमै राम्रो छ । बैङ्कहरू वेल क्यापिटलाइज छन् । भला अलिकति स्ट्रेस प्रफिटमा छ । रिकोभरीमा छ । त्यो हामीले स्पष्ट रूपमा देखेका छौँ । रिकोभरीमा भइरहेको स्ट्रेस दुई किसिमबाट गाइडेड छ । अर्थतन्त्रमा अलिकति स्लो डाउन भएको असर हामी देख्छौँ । एक खालको अराजक गतिविधि हुने र बैङ्कको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ । यसको बाबजुद बैङ्कका साथीहरू आफ्नो ठाउँमा ग्रास रुटमा खट्नुभएको छ ।’